
जुम्ला — बुधबार दिउँसोदेखि बेपत्ता भएका रास्कोट नगरपालिका–८ फुकोटका वडाध्यक्ष मनिराज बरालको कोट कर्णाली नदीको किनारमा फेला परेको छ। रास्कोट–७ नडीस्थित नदी किनारमा भेटिएको उक्त कोटको एक बाहुला च्यातिएको अवस्थामा थियो।

बरालका आफन्तले कोट उनी घरबाट लगाएर निस्किएको पुष्टि गरेका छन्। “कोट त उनकै हो,” आफन्त विष्णु बरालले बताए, “वडा र घरको कामको तनाव थियो, यस्तो अवस्थामा नदी किनारमा कोट भेटिँदा कुनै अनिष्ट भएको आशंका छ।”
वडाध्यक्ष बराल रास्कोट–५ लामासिनस्थित ससुरालीतर्फ जाने भन्दै हिँडेका थिए। उनी हिँडेको बाटो अध्ययन गर्दा रास्कोट नगरबाट ससुराली पुग्न करिब आधा घण्टा पैदल लाग्छ भने नदी किनार झर्न झन्डै १ घण्टाभन्दा बढी समय लाग्छ।
रास्कोट नगरप्रमुख धर्मराज शाहीका अनुसार, बराल काम सकेर ससुराली जान भन्दै निस्किएका थिए। तर त्यसपछि उनी सम्पर्कविहीन भएका हुन्।
घटना भएको सूचना पाएलगत्तै नगर प्रहरी र स्थानीयको टोलीले वडाध्यक्ष हराएको सम्भावित स्थानहरूमा खोजी गरे पनि अहिलेसम्म उनको अवस्था पत्ता लागेको छैन। कालीकोटका प्रहरी प्रमुख टेकबहादुर रावतले पनि हराएको पुष्टि गर्दै अनुसन्धान जारी रहेको जानकारी दिए। “नदी किनारमा उनको कोट बाहुला च्यातिएको अवस्थामा भेटिएको सूचना आएको छ,” उनले भने, “प्रहरी टोलीले घटनाको अनुसन्धान र खोजी कार्य दुवै तीव्र बनाएको छ।”
रास्कोट नगरपालिकाका अनुसार, बराल करिब चार महिनादेखि मानसिक स्वास्थ्यको उपचारमा थिए र औषधि सेवन गरिरहेका थिए। उनी हाल आरसीपी बजारमा पक्की घर बनाउने क्रममा थिए। बराल २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा (माओवादी केन्द्र) बाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए।