
काठमाडौँ, भदौ २० — सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२, इको क्षेत्रमा साउन १८ गते गएको भीषण पहिरोका कारण अवरुद्ध बनेको अरनिको राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन।

राजमार्ग बीचमा करिब चार दिनका लागि आंशिक रूपमा खुले पनि, निरन्तर भइरहेको वर्षाका कारण पुनः बन्द भएको हो। पहिरोबाट करिब २५० मिटर सडक प्रभावित भएको छ, जसमध्ये ५० मिटर सडक पूर्ण रूपमा भत्किएको छ।
चीनसँगको प्रमुख व्यापारिक नाकातर्फ जाने यो मार्ग अवरुद्ध हुँदा सयौँ कन्टेनर गाडीहरू बाटोमै रोकिएका छन्। विशेषगरी फलफूल र तरकारी बोकेका सवारीसाधनका सामान कुहिन थालेपछि व्यापारीहरू ठूलो नोक्सानीमा परेका छन्। केही व्यापारीहरूले वैकल्पिक उपाय अपनाउँदै भरियाको सहायतामा सामान ढुवानी गर्न थालेका छन्।
अवरुद्ध सडक खुलाउन सडक डिभिजन कार्यालय, स्थानीय तह र सुरक्षाकर्मीहरूको टोली प्रयासरत रहेको भए पनि लगातार पहिरो झर्ने क्रम नरोकिएकाले तत्काल राजमार्ग सञ्चालनमा ल्याउन कठिन भएको बताइएको छ।