
बिराटनगर । परराष्ट्र सचिव अमृतबहादुर राईले लिपुलेक–लिम्पियाधुरासम्बन्धी विषयमा नेपालले भारतसँग पनि चीनसँगझैँ स्पष्ट अडान राख्ने बताएका छन्।

चीनको पाँच दिने भ्रमणबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले हालै चीन भ्रमणका क्रममा उठाएको मुद्दा भारतसँग पनि उठाइने स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले गत हप्ता थियानजिनमा चिनियाँ राष्ट्रपति सि जिनपिङसँगको भेटमा भारत–चीनबीच लिपुलेक हुँदै सीमा व्यापार गर्ने सहमति प्रति आपत्ति जनाएका थिए। प्रधानमन्त्रीले सो समझदारी नेपालको भूभाग अतिक्रमण गरेर गरिएको भन्दै त्यसलाई कार्यान्वयन नगर्न चिनियाँ राष्ट्रपति समक्ष आग्रहसमेत गरेका थिए।
‘प्रधानमन्त्रीज्यूले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल–चीन सम्बन्धलाई मित्रवत् र गाढा रहेको भन्दै नेपालको विकासमा चीनले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो,’ सचिव राईले भने, ‘तर, लिपुलेकमार्ग भएर व्यापार गर्ने सहमतिप्रति आपत्ति जनाउँदै त्यसलाई अघि नबढाउन प्रधानमन्त्रीले चिनियाँ राष्ट्रपति समक्ष प्रष्ट रूपमा अनुरोध गर्नुभएको हो।’
पत्रकारहरूले सोधेको प्रश्नमा सचिव राईले भारतसँग पनि नेपालले यस्तै अडान राख्ने बताएका हुन्।