काठमाडौँ, भदौ १८ —नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालबीच पार्टी एकता प्रयासबारे पटक–पटक छलफल भइरहे पनि कुनै ठोस निष्कर्षमा पुग्न सकेका छैनन्।
दुवै दलभित्र मात्र होइन, समग्र वाम राजनीतिक वृत्तमै वाम एकता आवश्यक भएको आवाज चर्किंदै गएको छ। तर, हालका छलफलहरू दुई दलबीचको सम्भावित एकता केन्द्रित छन्।
यसै सन्दर्भमा मंगलबार आलोकनगरस्थित एकीकृत समाजवादी पार्टी कार्यालयमा प्रचण्ड र नेपालले आ–आफ्ना निकटस्थ नेताहरूसँग संयुक्त छलफल गरेका थिए। माओवादी केन्द्रबाट देव गुरुङ, जयपुरी घर्ती र उपत्यका सम्पर्क समितिका केही नेता सहभागी थिए भने, एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे, प्रमेश हमाल, रामकुमार भट्टराई लगायत सहभागी थिए।
छलफलमा अध्यक्ष प्रचण्डले ‘नेकपा’ कालमै वैचारिक दस्तावेज टुंगिएको दाबी गर्दै अब ढिलाइ नगरी एकता गर्नुपर्नेमा जोड दिए। उनले भने, “हाम्रो विचार त्यतिबेलै मिलेको हो, अब संगठन मिलाउन कुनै गाह्रो छैन। केही नमिलेका कुरा छन् भने मिलाउँदै जान सकिन्छ।”
प्रचण्डले ढिलो गर्ने हो भने दलभित्रका असन्तुष्ट समूह र विदेशी चलखेलले एकता प्रक्रिया अवरुद्ध गर्न सक्ने चेतावनी पनि दिए। “सर्प्राइज एकता गर्न सकियो भने ओलीहरूलाई पनि चक्मा दिन सकिन्छ,” उनको भनाइ थियो।
अर्कोतर्फ, अध्यक्ष नेपालले वैचारिक, सांगठानिक र राजनीतिक आधारहरू मिलाउन आवश्यक रहेको बताए। “अझै पनि धेरै कुरा मिलाउन बाँकी छन्। मोर्चा सक्रिय बनाउँदै गयौं भने आपसी विश्वास बढ्छ र एकताको बाटो सहज हुन्छ,” उनले भने।
छलफलमा सहभागी प्रदेशस्तरीय नेताहरूले भने एकता आवश्यक भए पनि त्यसको उद्देश्य स्पष्ट हुनुपर्ने माग राखे। “एकता तत्कालको संकट टार्ने साधन हो कि दीर्घकालीन समाजवादी यात्राको अङ्ग?” भन्ने प्रश्न नेताहरूले उठाएका थिए। तर, प्रचण्ड र नेपाल दुवैले यसबारेमा स्पष्ट जवाफ दिन सकेनन्।
प्रचण्डले जनार्दन शर्मातर्फ इन्कित गर्दै आफ्नो पार्टीभित्र पनि विरोधी धार रहेको स्वीकार गरे भने नेपालतर्फ झलनाथ खनाल र घनश्याम भूसाल तत्काल एकताको विपक्षमा रहेको बताए।
एकीकृत समाजवादीका नेता प्रमेश हमालले यो नियमित छलफल भएको बताए। “पार्टी एकता होइन, मोर्चा कसरी प्रभावकारी बनाउने भन्नेमा कुराकानी भएको हो,” उनले भने।
माओवादी महासचिव देव गुरुङले पनि छलफल कुनै निष्कर्षमा नपुगेको र आवश्यक परेमा पार्टी एकता हुन सक्ने बताए। उपमहासचिव रामकुमार भट्टराईले धेरैभन्दा धेरै वामपन्थी शक्तिहरूलाई एकीकृत गर्नेबारे छलफल भए पनि निर्णय नभएको बताए।
हाललाई प्रचण्ड–नेपाल वार्ता एकताको पूर्वतयारीकै चरणमा रहेको देखिन्छ, तर स्पष्ट नीतिगत सहमति र आन्तरिक प्रतिरोध समाधान नगरेसम्म औपचारिक एकता सहज देखिँदैन।