इलाम — इलामको सूर्योदय नगरपालिका–२, बागबिरेस्थित एक बाख्राको गोठमा दुर्लभ कालो चितुवा (ब्ल्याक प्यान्थर) फेला परेको छ। चितुवाले दुई माउ बाख्रा र एक पाठी मारेपछि स्थानीयले गोठमै बसेको अवस्थामा देखेका थिए।
घटना पछि स्थानीयले प्रहरीलाई खबर गरेपछि डिभिजन वन कार्यालय इलाम र कोशीटप्पु वन्यजन्तु आरक्षको प्राविधिक टोलीको सहकार्यमा चितुवालाई सफलतापूर्वक नियन्त्रणमा लिइ उद्धार गरिएको हो।
डिभिजनल वन अधिकृत वीरेन्द्र साहका अनुसार उद्धार गरिएको चितुवालाई कोशीटप्पु वन्यजन्तु आरक्षमै पठाइएको छ।
स्थानीयवासी र जनप्रतिनिधिहरूले इलामका विभिन्न पालिकामा वन्यजन्तु आक्रमण बढ्दो भएकाले बस्तीमा त्रास फैलिएको बताएका छन्। सूर्योदय–२ का वडाध्यक्ष डिकबहादुर बम्जनले संरक्षणका नाममा स्थानीयको सुरक्षालाई बेवास्ता नगरिनु पर्ने माग गरेका छन्।