
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा रूपन्देही–३ का प्रतिनिधिसभा उम्मेदवार डा. लेखजंग थापाले आफ्नो वैवाहिक सम्बन्धबारे खुलेर स्पष्टीकरण दिएका छन्।



थापाले सामाजिक सञ्जालमार्फत एक वक्तव्य जारी गर्दै जीवनमा दुई पटक विवाह भएको र एक श्रीमतीसँग कानुनी रुपमा सम्बन्धविच्छेद भइसकेको जानकारी दिएका हुन्। “त्योभन्दा ठूलो सत्य सम्बन्धविच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो, जसको म बाबा पनि हुँ,” उनले लेखेका छन्।
उनका अनुसार पार्टीलाई आफ्नो पारिवारिक पृष्ठभूमिबारे जानकारी दिइसकिएको छ र उम्मेदवार छनोट प्रक्रिया कानुनी परामर्शका आधारमा गरिएको हो।
थापाले आफूमाथिको आलोचना व्यक्तिपरक नभई रास्वपा र यसको ‘सुसंस्कृत राजनीति’ माथि भएको सुनियोजित आक्रमण भएको दाबी गर्दै भने, “मेरो व्यक्तिगत कारणले पार्टीमाथि सानो दाग पनि लागोस् भन्ने म चाहन्न।”
आफू उम्मेदवार हुनुको उद्देश्य सत्ता होइन, समाज रूपान्तरण भएको उल्लेख गर्दै थापाले भने, “म नेता बन्न होइन, देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ।”
रूपन्देही–३ को उम्मेदवार चयनप्रति आभार व्यक्त गर्दै उनले अन्तिम निर्णय पार्टीको हुने र आफू त्यसलाई स्वीकार गर्ने प्रतिबद्धता जनाएका छन्।