जुम्ला, भदौ १७ – अविरल वर्षापछि आएको पहिरोका कारण कर्णाली राजमार्ग तीन दिनदेखि पूर्णरूपमा अवरुद्ध हुँदा करोडौं रुपैयाँ बराबरको स्याउ बोकेको २० वटा ट्रक बाटोमै अलपत्र परेका छन्।
भदौ १४ गते बिहान ९:४५ बजे कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा ठूला ढुंगा खसेर राजमार्ग अवरुद्ध भएको हो। ढुंगा फुटाउन ब्रेकर प्रयोग गरिए पनि सफल नभएपछि अहिले ब्लास्टिङ गरेर सडक खुलाउने तयारी भइरहेको सडक डिभिजन जुम्लाका प्रमुख दिपेन्द्र चौधरीले जानकारी दिनुभयो।
सडक अबरुद्ध हुँदा जुम्लाबाट स्याउ बोकेर नेपालगञ्ज र सुर्खेततर्फ गएका ट्रक बीच बाटोमै रोकिएका छन्। प्रहरीका अनुसार भदौ १४ देखि १६ गतेसम्म जम्मा २० वटा ट्रक जुम्लाबाट स्याउ लिएर निस्किएका थिए। ती ट्रकमा झन्डै ७०९ क्विन्टल स्याउ रहेको अनुमान गरिएको छ।
स्याउ व्यापारी हरिसिंह नेपालीका अनुसार, “निर्यातको मुख्य सिजनमा सडक अबरुद्ध हुँदा स्याउ कुहिने जोखिम बढेको छ।” अर्का व्यापारी कालीबहादुर रोकायाले भने, “गाडीमा चार हजार किलो स्याउ छ, किसानलाई आधा पैसा तिर्न बाँकी छ, बाटो नखुल्दा स्याउ कुहिन्छ, हामी घाटामा पर्छौं।”
यस वर्ष जुम्लामा असिनाले करिब पाँच लाख स्याउका बिरुवा नष्ट गर्दा १६ करोड बराबरको क्षति भएको कृषि कार्यालयको अनुमान छ। अनुमानित १३ हजार मेट्रिक टन उत्पादनमध्ये करिब ४ हजार मेट्रिक टन मात्रै निर्यात हुने देखिएको छ। उत्पादन कम भएको वर्षमा मूल्य भने बढेको छ, तर सडक अबरुद्ध हुँदा किसान र व्यापारी दुबै घाटामा परेका छन्।
गगने खोलामा ठूला ढुंगा हटाउन अहिले नेपाली सेना र प्रहरीको सहयोगमा ब्लास्टिङको तयारी भइरहेको डिभिजन प्रमुख चौधरीले बताउनुभयो। उहाँका अनुसार, “अब ब्रेकरले सम्भव छैन, ब्लास्टिङ नै अन्तिम विकल्प हो।”
भिरालो भौगोलिक बनावट र जथाभावी सडक निर्माणका कारण वर्षा सुरु हुनासाथ कर्णाली राजमार्गमा पहिरोको जोखिम बढ्ने गरेको छ। गत वर्ष पनि यस्तै समयमा सडक बन्द हुँदा ६३ वटा स्याउ ट्रक अलपत्र परेका थिए।
स्याउ बोकेर गएका देउराम नेपाली भन्छन्, “दशैँतिहारको लागि कमाइ हुन्छ भन्ने आशामा स्याउ लगिएको थियो, तर बाटो अबरुद्ध भएर उल्टै घाटामा पर्ने भय छ।”
चार दिनदेखि बाटोमै रहेका चालक-सहचालकलाई खुवाउने, बस्ने खर्च बढेको र ढुवानी शुल्कसमेत महँगो भएको उनी बताउँछन्।