विराटनगर, भदौ १६ – विराटनगर भन्सार कार्यालयअन्तर्गत भारततर्फको जोगबनी नाका नजिकै रहेको ३ नम्बर ढाट लामो समयदेखि बन्द रहँदा सिटी रिक्सा चालकहरू प्रभावित भएका छन्। रोजगारीमा प्रत्यक्ष असर परेपछि उनीहरूले सोमबार विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी चालकहरूले उक्त ढाट पुनः सञ्चालनमा ल्याउन माग गर्दै नाराबाजी गरेका थिए। उनीहरूले ढाट नखुल्दा यात्रु आवतजावतमा समेत समस्या भएको र सीमावर्ती जनताको दैनन्दिन आवागमन प्रभावित भएको गुनासो गरे।
सिटी रिक्सा चालकहरूको भनाइअनुसार, नेपाल–भारतबीचको आवागमन सहज बनाउन ३ नम्बर ढाट खोल्नु आवश्यक छ। ढाट बन्द हुँदा उनीहरूको पेसा धरापमा परेको र दैनिक आम्दानी ठप्प भएको उनीहरूको दाबी छ।