विराटनगर, मोरङ — नेपाली कांग्रेस विराटनगर–४ द्वारा शनिबार कच्चनवारीस्थित वडा कार्यालयमा क्रियाशील सदस्यता प्रमाणपत्र वितरण तथा नेता–कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा वडाभित्रका कांग्रेस नेताहरुको उल्लेख्य उपस्थिति थियो। कार्यक्रमको नेतृत्व वडा सभापति राजकुमार तवदारले गरेका थिए। उनले संगठनलाई थप सक्रिय बनाउन कार्यक्रमले योगदान पुर्याएको भन्दै आगामी दिनमा टोल–टोलमा छलफल कार्यक्रम सञ्चालन गरिने घोषणा गरे। तवदार आगामी स्थानीय निर्वाचनमा वडाध्यक्ष पदका आकांक्षी समेत हुन्।
कार्यक्रमका प्रमुख अतिथि तथा कांग्रेस नेता एवं पूर्व प्रदेशसभा सदस्य चुमनारायण तवदारले वडा भित्र कांग्रेस चलायमान बनेकोप्रति सन्तोष व्यक्त गर्दै, साझा सोचसाथ जनता नजिक रहने र समस्याको समाधानमा सक्रिय हुन कार्यकर्तालाई आग्रह गरे। उनले जनसंख्या वृद्धिसँगै विकास सुस्त भएको भन्दै योजनाबद्ध पहल आवश्यक रहेको बताए।
नेपाली कांग्रेस मोरङका सह-सचिव सञ्जय मण्डलले वडा अन्तर्गतका २८ टोल समितिमार्फत ४३९ क्रियाशील सदस्यको विवरण संकलन भइसकेको र सो नामावली जिल्ला समितिमा पठाइसकेको जानकारी दिए।
प्रदेशसभा प्रतिनिधि विनयहरि दाहालले कांग्रेस कार्यकर्ताहरूले लोकतान्त्रिक विचारसँगै विकासका काममा पनि निरन्तरता दिनुपर्ने बताए।
कार्यक्रममा कांग्रेस वडा नं. ४ का उपाध्यक्ष बलक राजबंशी र अर्जुन चुडाल, सचिव राजेन्द्र भट्टराई (राजन), तथा स्थानीय नेताहरू काशीनाथ चुडाल, सुरेश थापा मगर, कौशल निरौला, दीपक गोसाई, मुरारी धिताल, खिलराज घिमिरे, गयालाल मण्डल, अमृता थापा मगर, दीवस राजबंशी, गणेश ब. मगर, डोरप्रसाद गिरी, परमेश्वर ढुङ्गाना, भोलाराम चौधरी, मुकेश शर्मा, किशोर श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।