फ्रान्सबाट कतार हुँदै आएकी कोरोना भाइरस सङ्क्रमित युवतीसँगै बाँके आएका तीन जनाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा राखिएका उनीहरुसहित छ जनाको नमूना परीक्षणको लागि काठमाडौँ पठाइएकोमा नेगेटिभ रिपोर्ट आएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा संयोजक रामबहादुर चन्दले जानकारी दिनुभयो । यसअघि पहिलो चरणमा सात जनाको नमूना जाँच गर्न पठाइएकामा ती नमूना पनि नेगेटिभ नै आएको चन्दले बताउनुभयो । बाँकेमा कोरोना भाइरसको आशङ्का गरिएका २३ मध्ये दुई चरणमा गरी १३ को रिपोर्ट नेगेटिभ आएको र १० जनाको रिपोर्ट आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो । चन्दका अनुसार तेस्रो चरणमा शनिबार थप १० जनाको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको छ । कोरोनासँग जुध्न गाउँमा अभिभावकत्व लिँदै पूर्वराज्यमन्त्री कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पूर्वराज्यमन्त्री दलबहादुर सुनारले गाउँमा अभिभावकको भूमिका निर्वाह गर्नुभएको छ । सबैतिर स्थानीय, प्रदेश र केन्द्रीय सरकारको मुख ताकेर बसिरहेका बेला पूर्वराज्यमन्त्री सुनारको सक्रियतामा स्थानीयस्तरबाटै योजना निर्माण र कार्यान्वयनका लागि कोष खडा गरिएको छ । उहाँको नेतृत्वमा बाँके निर्वाचन क्षेत्र नं ३ अन्तर्गतको बैजनाथ र खजुरा गाउँपालिकामा सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि स्थानीयस्तरबाट प्रभावकारी योजना बनेका छन् । ‘यो महाविपत्तिको बेला सरकार वा अरु कसैको आश गरिरहने होइन, आआफ्नो ठाउँमा भएको सम्भावनालाई प्रयोग गर्न सक्नुपर्छ’, उहाँले भन्नुभयो,‘हामी सरकारले गरिरहेको काममा सहयोग र समन्वय गर्दै स्थानीयस्तरमा नागरिकलाई सचेत र उत्तरदायी बनाउन लागिपरेका छौँ ।’ तत्कालीन नेकपा एमालेका केन्द्रीय सदस्य सुनार २०६४ र २०७० मा दुईपटक संविधानसभा सदस्य बन्नुभयो । विसं २०६८ मा सिँचाइ राज्यमन्त्रीसमेत हुनुभएका सुनार २०७४ पछि भने गाउँ फर्केर जनस्तरमा काम गर्नुभएको छ । हाल उहाँ बैजनाथ गाउँपालिकामा रहेको प्रभात माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष बनेर विद्यालयलाई नमूना बनाउनु भएको छ भने स्थानीय चाहना कृषि सहकारी संस्थाको समेत नेतृत्व गर्नुभएको छ । लकडाउनले गरिखाने मजदूर र विपन्न समुदायको अवस्था दयनीय बनेपछि सुनारको संयोजकत्वमा यतिबेला विपत् कोष निर्माण गरी अतिआवश्यकीय खाद्यान्न सङ्कलन तथा वितरण शुरू भएको छ । बाँके निर्वाचन क्षेत्र नं ३ प्रदेश क क्षेत्रमा रहेका मजदूर तथा गरीव एवं विपन्न समुदायलाई लकडाउनका समयमा अत्यावश्यक खाद्यान्नलगायत सामग्री जुटाउन पूर्वराज्यमन्त्री सुनारको संयोजकत्वमा विपत् कोष निर्माण गरी काम शुरू भएको नेकपा जिल्ला सचिवालय सदस्य चन्द्र चौधरीले जानकारी दिनुभयो । उहाँले निर्वाचन क्षेत्रमा रहेका मजदूर तथा विपन्न समुदायको तथ्याङ्क सम्बन्धित गाउँपालिका र वडा कार्यालयबाट सङ्कलन गरी वास्तविक पीडितको घरसम्म पुगेर आवश्यक खाद्य पदार्थ वितरण गरी कोरोनाविरुद्धको अभियानमा जनतालाई जागृत बनाइने बताउनुभयो । बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले पूर्वराज्यमन्त्री सुनारको सक्रियताले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि गाउँपालिकाले सञ्चालन गरेका अभियान थप प्रभावकारी हुने बताउनुभयो । स्थानीयस्तरमा सबैले आआफ्ना स्थानबाट आवश्यक सक्रियता देखाएमा गाउँपालिकाले सञ्चालन गरेका हेल्प डेस्क, क्वारेन्टाइन, आइसोलेशन वार्डका कामकारवाही पनि प्रभावकारी भई भाइरस रोकथाममा सघाउ पुग्ने उहाँको भनाइ छ । कतारबाट आएकी युवतीको रिपोर्ट ‘नेगेटिभ’ तुलसीपुर ः कतारबाट आएकी दाङकी एक महिलाको कोरोना भाइरस रिपोर्ट ‘नेगिटिभ’ देखिएको छ । आइतबार ती महिलासहित बेलझुण्डीको अस्थायी कोरोना अस्पतालको आइसोलेसनमा रहेका अर्का एक जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । हाल सङ्क्रमित युवती सवार कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानमा आएकी ती महिलाको रिपोर्ट नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोभिड–१९ फोकल पर्सन कमल चन्दले बताउनुभयो । उनीहरु दुवैको शनिबार स्वाब सङ्कलन गरी काठमाडौँ पठाइएको थियो । शनिबार ६ जनाको स्वाब पठाएकामध्ये अन्य चार जनाको रिपोर्ट भने आउने क्रममै छ । कोभिड–१९ को आशङ्का गरिएका २३ नमूना नेगेटिभ विराटनगर ः प्रदेश नं १ बाट कोरोना भाइरसको आशङ्का गरिएका ३० बिरामीको थ्रोट स्वाब नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकामा आइतबारसम्म २३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश नं १ आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्र विराटनगरले अन्य सात जनाको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ । यस्तै प्रदेश नंं १ मा कोभिड–१९ को आशङ्का भएका बिरामीलाई राख्न निर्माण गरिएको आइसोलेसन र क्वारेन्टाइमा आजसम्म ५१२ जनालाई राखिएको छ । केन्द्रका अनुसार आइसोलेसनमा दुई महिलासहित आठ जनालाई राखिएको छ भने क्वारेन्टाइनमा ६२ महिलासहित ४०४ रहनुभएको छ । होम क्वारेन्टाइनअन्तर्गत ९३ महिलासहित ६०९ सुरक्षाका लागि बस्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!