लहान — कार्यवाहक प्रधानमन्त्री तथा नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहले पार्टीको १५औं महाधिवेशन निर्धारित समयभित्रै पार्टीको विधान र नेपालको संविधानअनुसार हुने स्पष्ट पारेका छन्।
बिहीबार कांग्रेस नगर कार्यसमिति, लहानद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले महाधिवेशनको समयबारे उठेका आशंकालाई खण्डन गरे। “पार्टीको विधानले दिएको म्याद र नेपालको संविधानले तोकेको अवधिभित्रै महाधिवेशन सम्पन्न हुन्छ,” उनले भने, “पार्टीभित्र राम्रोसँग मान्छे चिनेर मतदान गर्नुहोस्।”
कांग्रेसको विधानअनुसार हरेक चार वर्षमा महाधिवेशन हुनुपर्ने व्यवस्था छ। तर, विशेष परिस्थितिमा एक वर्ष म्याद थप्न सकिने अधिकार सभापतिलाई दिइएको छ। संविधानले पनि राजनीतिक दलहरूले साढे ५ वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने प्रावधान गरेको छ।
सिंहले महाधिवेशन समयमै गर्नुपर्छ भन्ने माग राख्ने तर त्यसका लागि आवश्यक प्रक्रिया पुरा नगर्ने नेताहरूप्रति असन्तुष्टि जनाए। “क्रियाशील सदस्यता अद्यावधिक नगरी, नयाँ सदस्यता नदिई, महाधिवेशनको मूल आधार तयार नगरी केवल मिति कराएर मात्रै हुने कुरा होइन,” उनले स्पष्ट पारे।
उनले संविधान सभाको समय पनि महाधिवेशन पाँच वर्षमा सम्पन्न गर्न नसकिने अवस्था आउँदा सबै दलको सहमतिमा थप ६ महिना म्याद बढाउन संविधान संशोधन गर्नुपरेको उदाहरण समेत उल्लेख गरे।