मोरङ । कानेपोखरी गाउँपालिकाको प्रशासनिक भवन वडा नं. ५ स्थित भौंसाबारीमै निर्माण हुने भएको छ । यस विषयमा लामो समयदेखि चलिरहेको विवादलाई सर्वोच्च अदालतले अन्त्य गरिदिएको छ।
कोशी प्रदेश सरकारले २०८० माघ २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार गाउँपालिकाको प्रशासनिक भवन वडा नं. ६ बाट स्थानान्तरण गरी वडा नं. ५ भैंसाबारीमा सार्न सिफारिस गरेको थियो ।
२०८० बैशाख १७ गते बसेको गाउँपालिकाको तेह्रौं गाउँसभाको तेस्रो बैठकबाट दुई तिहाई बहुमतले पालिकाको प्रशासनिक भवन वडा नं ५ मा बनाउने निर्णय गरेको थियो । तर, विपक्षी पक्षले उक्त निर्णयविरुद्ध उच्च अदालत विराचनगर र सर्वोच्च अदालतमा मुद्दा दायर गर्दै भवन साविककै स्थान वडा नं. ६ को रमाईलोमा बनाइनुपर्ने माग गरेका थिए।
प्रस्तावित भवन
२०८२ साल श्रावण २० गते सर्वोच्च अदालतले विपक्षीको रिट खारेज गर्दै वडा नं. ५ भौंसाबारीमै प्रशासनिक भवन निर्माणको बाटो खुला गरिदिएको छ। अब गाउँपालिकाले भवन निर्माण प्रक्रिया अघि बढाइसकेको प्रमुख प्रशासकीय अधिकृत हिरा कुमारी यादवले जानकारी दिइन्।
उनका अनुसार भवन निर्माणका लागि आवश्यक प्राविधिक बोलपत्र आव्हान गरी बिडरहरूको पूर्व योग्यता मूल्यांकन प्रक्रियासमेत सुरु भइसकेको छ। प्रशासनिक भवन बन्ने पक्का भएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् ।
प्रशासनिक भवन निर्माण कार्यविधी २०७९-८० अनुसार संघीय सरकारको ६० प्रतिशत र सम्बन्धित पालिकाको ४० प्रतिशत लगानीमा पालिकाको भवन निर्माण हुने भएको हो । १६ करोडको लगानीमा निर्माण हुने कानेपोखरी गाउँपालिको प्रशासनिक भवन अपाङ्गमैत्री ३ तलाको हुने बताईएको छ ।