हिपमत डटकम

आइतबार, साउन १२, २०८२ || 786  पटक पढिएको

विराटनगर।नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले साउन १ गतेदेखि देशव्यापी रूपमा सुरु गरेको ‘श्रम तथा उत्पादनमा वाईसीएल’ अभियानले प्रदेश १ मा तीव्रता पाएको छ ।

‘क्रान्तिकारी कम्युनिस्ट युवाहरू राष्ट्र निर्माणका अगुवा शक्ति हुन्’ भन्ने नारालाई आत्मसात् गर्दै वाईसीएलले प्रदेशका विभिन्न जिल्लामा वृक्षारोपण, सरसफाइ, सडक मर्मत, र बाँध निर्माण जस्ता सामाजिक कार्यहरूलाई अघि बढाएको छ । अभियानको मुख्य उद्देश्य युवाहरूमा श्रम संस्कृतिको विकास गर्ने र उनीहरूलाई उत्पादनसँग जोडेर राष्ट्र निर्माणमा सहभागी गराउनु रहेको छ ।

अभियान अन्तर्गत वाइसीएल नेपाल ताप्लेजुङ जिल्ला समितिले श्रीजङ्घा गाउँपालिकाको मामाङ्खे र पेदाङमा एक हजारभन्दा बढी फलफूल तथा अन्य प्रजातिका बिरुवा रोपेको छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज खेलप्रसाद बुढाथोकी (पराग) लगायत वाईसीएलका केन्द्रीय तथा जिल्लास्तरीय नेताहरूको उपस्थितिमा सयौँ युवाहरूले वृक्षारोपण कार्यक्रममा सहभागिता जनाएका थिए ।

त्यसैगरी, झापामा पनि वाईसीएलले बुद्धशान्ति गाउँपालिका वडा नम्बर ४ स्थित बौद्ध दाहसंस्कार व्यवस्थापन समिति चिलिमघाटमा बृहत् सरसफाइ कार्यक्रम आयोजना ग¥यो । स्थानीय पार्टी नेता–कार्यकर्तासहित २७० जनाभन्दा बढीको सक्रियतामा २५० भन्दा बढी बिरुवा रोपिएको छ । कार्यक्रममा पार्टीका जिल्ला संयोजक राजु आचार्य, प्रदेश सदस्य रोशन तिम्सिना लगायतका नेताहरूको उपस्थिति थियो ।

खोटाङमा वाईसीएलले हलेसीको होलेसुङ जनकराज राई मार्गको करिब १३ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने र झाडी सफा गर्ने काम गरेको छ । जसले स्थानीयको यातायातमा सहजता ल्याएको छ । यसका साथै, हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमस्थित गणेशटार खेलमैदानलाई पहिरोबाट जोगाउन बाँस, निलकाँडा जस्ता ५०० भन्दा बढी बिरुवा रोपिएको छ । वाईसीएल खोटाङका इन्चार्ज किसन राईले अभियानले युवाहरूलाई श्रमको महत्व बुझाउँदै उत्पादनशील कार्यमा संलग्न गराउने लक्ष्य राखेको बताए । तीन दिनसम्म चलेको श्रमदानमा ११० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।

उदयपुरमा वाईसीएलले अभियानलाई थप व्यवस्थित बनाउँदै हरेक शनिबारलाई ‘श्रमबार’ का रूपमा मनाउने निर्णय गरेको छ । जिल्लाले विभिन्न स्थानमा बृहत् सरसफाइ र वृक्षारोपण कार्यक्रमहरू सम्पन्न गरेको छ । जसमा त्रियुगा नगरपालिकास्थित बैथुम्की डाँडा हिल स्टेसन, चुरे मन्दिर परिसर र मैनाहा क्षेत्र समावेश छन् । सबैभन्दा महत्त्वपूर्ण कार्यका रूपमा त्रियुगा–१ स्थित मैनाहा खोलामा बाँध निर्माण गरिएको छ । बर्सेनि बाढीले जनधनको क्षति गर्ने उक्त खोलामा बाँध निर्माण भएपछि स्थानीयलाई ठूलो राहत मिलेको छ । बाँध निर्माणमा वाईसीएलका निवर्तमान केन्द्रीय उप–महासचिव एबिराज राईलगायत २०० भन्दा बढी युवाहरूको सहभागिता थियो ।

पाँचथर जिल्लामा वाईसीएलले अभियानको औपचारिक उद्घाटन अघिदेखि नै श्रमसम्बन्धी कार्यहरू गर्दै आएको छ । यसवर्ष मात्रै स्कुल तथा गुम्बा सरसफाइ, किसानलाई धान रोप्न सहयोग, वृक्षारोपण, खेलमैदान मर्मत जस्ता दर्जनौं कार्यक्रमहरू सम्पन्न गरिसकेको छ । जसले संगठनको निरन्तर क्रियाशीलतालाई दर्शाउँछ ।

समग्रमा वाईसीएल नेपालले प्रदेश १ मा आफ्नो ‘श्रम तथा उत्पादन’ अभियानमार्फत सामाजिक कार्यहरूमा दर्बिलो उपस्थिति जनाउँदै युवा शक्तिलाई राष्ट्र निर्माणमा परिचालन गर्न सफल देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!