हिपमत डटकम

आइतबार, आषाढ २९, २०८२ || 2654  पटक पढिएको

पाँचथर । आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन् । तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिनाले विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाइहेका छन् । गोलभेँडा उत्पादनबाट तिम्सिनाको परिवारले मनग्य आम्दानी पनि गर्दै आएको छ ।

तिम्सिनाको दैनिकी आजभोलि सदाभन्दा केही फरक छ । बारीमा लटरम्म पाकेका गोलभेँडा टिपेर बाटोसम्म पुर्याउन उनको परिवारलाई भ्याइनभ्याइ छ । गोलभेँडाको एक टिपाइ नसकिँदै अर्को टिपाइको बेला भइसक्छ ।

“आजभोलि सधैँभन्दा धेरै काम गर्नुपर्छ । अरु बेलाचाहिँ काम त गर्नुपर्छ, तर धेरै र गाह्रो काम हुँदैन”, तिम्सिनाले भने, “गाउँघरमा कामले भने कहिल्यै छाड्दैन ।”तिम्सिना परिवारले याङवरक गाउँपालिका–६ रमिते र हिलिहाङ गाउँपालिका–१ फेदापामा करिब ४० रोपनी क्षेत्रफलमा खेती गर्ने गरेको छ । यो जमिन केही तिम्सिना परिवारको आफ्नै हो भने केही बन्दकीमा लिइएको हो । यहाँ गोलभेँडा, खुर्सानी, सुन्तलालगायत नगदेबाली लगाइएको छ । दुवैतर्फ घर छन्, जहाँ पशुपालन पनि छ । “पाँच जनाको परिवारले सबै काम भ्याउँदै आएका छौँ”, २७ वर्षका कमलले भने, “सब्जीखेती र पशुपालनबाट हुने आम्दानीले हामी सन्तुष्ट छौँ ।”

तिम्सिनाको परिवार ११ वर्षअघि ताप्लेजुङको चाक्सिबोटेबाट बसाइँ सरेर पाँचथर आएको थियो । मेची राजमार्ग नजिकै बसोबास गरेको तिम्सिना परिवारले व्यावसायिक रूपमा गोलभेँडाखेती गर्न थालेको १० वर्ष भयो । एक टिपाइमा तिम्सिना परिवारले २० देखि ६० क्यारेटसम्म गोलभेँडा उत्पादन गर्ने गरेको छ । एक क्यारेटमा औसतमा २३ किलोग्राम गोलभेँडा हुन्छ । एकै बिरुवाबाट तीनदेखि सातपटकसम्म गोलभेँडा टिपाइ हुने गर्छ ।

अहिले व्यवसायीहरूले प्रतिकिलो रु २० मा गोलभेँडा खरिद गरेर लगिरहेका छन् । अहिले खर्च कटाएर वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी भइरहेको कमलले सुनाए ।

यहाँ गोलभेँडा फागनु, चैत र भदौमा गरी दुईपटक लगाउने गरिएको छ । गोलभेँडामा सामान्य विषादी लगाउने गरिएको कृषक बताउँछन् । रोग कीराको अत्यधिक समस्या हुने भएकाले विषादी प्रयोग गर्ने गरिएको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!