पथरी शनिश्चरे । मोरङको उत्तर पुर्वी क्षेत्रमा पर्ने पुर्व पश्चिम लोकमार्ग (निर्माणधिन एसियन हाईवे) संग जोडिएको विकासन्मुख नगरपालिका हो – पथरी शनिश्चरे नगरपालिका । साविकको पथरी र शनिश्चरे गाविसलाई मिलाएर विसं २०७१ सालमा पथरी शनिश्चरे नगरपालिका निर्माण गरिएको हो ।
स्थानीय तहको पुनर्संरचना गर्ने क्रममा साविकको हसन्दह गाविसलाई समेत मिलाएर विसं २०७३ साल फाल्गुन २७ गते हालको पथरी शनिश्चरे नगरपालिका बनेको हो । पुर्वमा उर्लाबारी नगरपालिका , पश्चिममा कानेपोखरी गाउँपालिका , उत्तरमा लेटाङ नगरपालिका र दक्षिणमा सुनवर्षी नगरपालिकासंग सिमा जोडिएको यस नगरपालिकाको क्षेत्रफल ७९.८१ वर्ग किलोमीटर रहेको छ भने २०७८ सालको राष्ट्रिय जनगणना अनुसार नगरको कुल जनसंख्या ७२ हजार ४ सय ५१ रहेको छ ।
पुर्व पश्चिम लोकमार्गको झन्डै ४ किलोमीटर भाग छुने यस नगरपालिकाको पुर्वी भुभाग सुनझोडा खोला र बक्राह खोलाले छुन्छ भने पश्चिममा डाँस खोलाले छुने गर्दछ । यसबाहेक मोरङ्गी खोला , पथरी खोला , लाटी खोला , गोहि खोला , केर्खा खोलापनि नगरभित्र पर्ने खोलाहरु हुन । बक्राह खोलाले वडा नं २ , ३ र ५ लाई छुन्छ भने डाँस खोलाले वडा नं ६ , ८ , ९ र १० लाई छोएको छ । जोखिमका हिसाबले विनाशकारी मानिने बक्राह खोला र डाँस खोलाले यस क्षेत्रमा बर्सेनि स्थानीयलाई दु:ख दिने गरेको छ ।
पथरी शनिश्चरे नगरपालिकाले विसं २०७९ साल माघ १५ गते ‘विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७९’ स्थानीय राजपत्रमा प्रकाशन गरि विपद रोकथाम वा विपदबाट हुने क्षतिको न्युनीकरण तथा विकासका कार्यमा विपद जोखिमलाई कम गर्ने सम्बन्धी कार्यमा काम गर्दै आएको छ । नगरपालिका भित्रको विपत व्यवस्थापन सम्बन्धि कार्यलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नगर प्रमुखको संयोजकत्वमा नगर विपत व्यवस्थापन समिति समेत गठन भई क्रियाशिल रहेको अवस्था छ । वडामा समेत वडा अध्यक्षको संयोजकत्वमा वडा स्तरीय विपद व्यवस्थापन समिति गठन भई विपतको पुर्व तयारी र जोखिम न्यूनीकरणका लागि पुर्व तयारीका विभिन्न क्रियाकलापहरु गरिरहेको स्थिति छ ।
पथरी शनिश्चरे नगरपालिकाको पुर्वी सिमावर्ती क्षेत्रहरु प्राकृतिक प्रकोपको दृष्टिले जोखिमयुक्त क्षेत्र मानिन्छ । यहाँ विशेषगरी बक्राह खोलाको बाढीले जनजीवनमा गम्भीर असर पार्दै आएको छ । जसका कारण जनधनको क्षति, सामाजिक असहजता र पूर्वाधारको विनाश बारम्बार दोहोरिइरहेको छ, जसले गर्दा नगरपालिका सतर्कता, पूर्वतयारी र आपतकालीन व्यवस्थापनतर्फ केन्द्रित हुँदै आएको छ ।
पथरी शनिश्चरे नगरपालिकामा वर्षा याम सुरु भएसँगै बाढीको जोखिम एक प्रमुख समस्या बनिरहेको छ । विशेषतः बक्राह खोलाबाट आउने बाढीले हरेक वर्ष जनधन र सम्पत्तिमा क्षति पुर्याउने गर्दछ ।
वडा नं ३, ५ र ६ सबैभन्दा बढी बाढीको जोखिममा छन् । वडा नं ३ र ५ को सुन्दरी चोक, हसन्दह मौलिबारी, सुगा र जयनगर क्षेत्रहरूमा प्रत्येक वर्ष बाढी बस्तीभित्रै पस्ने गरेको छ । २०७८ सालमा आएको बाढीले वडा नं ५ को हसन्दह, जयनगर र सुगा क्षेत्रमा ठूलो मात्रामा क्षति पुर्याएको थियो । दर्जनौं घर बगाएको, खेतबारी डुबाएको र धेरै पशुचौपाया समेत मरेका थिए । त्यसयता ठूला क्षति नभए तापनि खोलाको सतह बढ्ने बित्तिकै किसानका धान, मकै, तरकारी जस्ता बालिनाली नष्ट हुने क्रम जारी छ ।
नगरपालिकाको पश्चिमी सिमाना हुँदै बग्ने डाँस खोलाले समेत वर्षेनी समस्या थप्ने गरेको छ । यो खोलाले वडा नं ६, ८ र १० का बासिन्दालाई प्रत्यक्ष असर पुर्याउने गरेको छ । खोलाले बस्ती नजिकको खेतीयोग्य जमिन कटान गर्ने, सिंचाइको संरचना भत्काउने र खेत डुबाउने काम गर्दै आएको छ ।
कुन क्षेत्रमा बाढी र कटानको सम्भावना बढी छ भनेर पहिचान गर्नु अत्यन्त जरुरी छ । नगरपालिकाले भू-गर्भीय अध्ययन गराएर संवेदनशील क्षेत्रको नक्सा बनाउन सक्छ । जोखिमयुक्त घरधुरी, सार्वजनिक भवन, विद्यालय र खेतीयोग्य जमिनलाई चिन्हित गरी प्राथमिकता निर्धारण गर्न सकिन्छ । बाढी आउने सम्भावित खोलाको बगाउने दिशा र गहिराईको तथ्याङ्क संकलन गरेर ‘जोखिम नक्शा’ तयार पार्न सकिन्छ ।
नदी कटानबाट बच्न तटबन्ध निर्माण अत्यन्त प्रभावकारी उपाय हो । नदीको धार परिवर्तन गर्न आवश्यक परे बाँध तथा च्यानलको निर्माण गर्न सकिन्छ । जनश्रमदान र साझेदारीमा यी संरचनाहरू निर्माण गर्दा लागत कम हुन्छ र समुदायको स्वामित्व बढ्छ ।
बाढी आउनु भन्दा पहिले जानकारी पाउन सकेमा ठूलो क्षति हुनबाट बच्न सकिन्छ । खोलाको सतह मापन गर्न स्थानीय स्वयंसेवक परिचालन गर्न सकिन्छ । सूचना प्रणाली (SMS alert, सायरन, माइकिङ) विकास गरी समुदायलाई समयमै खबर दिन सकिन्छ । विद्यालय, मन्दिर, सामुदायिक भवनमा सूचना केन्द्र स्थापना गर्न सकिन्छ ।
बाढीको बेला मानिसहरूले ज्यान बचाउने सुरक्षित स्थान आवश्यक हुन्छ । उच्च भूभाग वा सुरक्षित भवनहरूलाई अस्थायी शिविरको रूपमा तयारी गरिन्छ । विद्यालय वा सामुदायिक भवनहरूलाई सुरक्षित आश्रयस्थलको रूपमा पूर्वतयार पार्न सकिन्छ (स्वच्छ खानेपानी, शौचालय, बत्ती, ओढ्ने बिछ्याउने आदि सहित) ।
समुदायलाई बाढी र कटान सम्बन्धी जानकारी दिनु जरुरी छ । विद्यालयहरूमा ‘बाढी सुरक्षा शिक्षा’ पाठ्यक्रम समावेश गर्न सकिन्छ । महिला समूह, युवा क्लब, कृषक समूहसँग कार्यशाला आयोजना गर्न सकिन्छ ।
बाढीको समयमा तत्काल प्रतिक्रिया दिन सक्ने टोलीको आवश्यकता पर्छ । वडास्तरमा विपत व्यवस्थापन समिति मार्फत स्वयंसेवकहरु परिचालन गर्न सकिन्छ । महिला, युवा, विद्यार्थी, प्रहरी, रेडक्रस, सामाजिक संस्था समेटेर विपत व्यवस्थापन समिति बनाउन सकिन्छ । प्राथमिक उपचार, उद्धार, खाद्यान्न वितरण, अस्थायी बास निर्माण आदिको तालिम दिन सकिन्छ ।
वर्षामा जमिन बग्नु र नदी कटानको मुख्य कारण जमिनको कमजोरी हो, जुन वन विनाशले बढाउँछ । नदी किनारमा बृहत वृक्षारोपण कार्यक्रम सञ्चालन गर्न सकिन्छ । सार्वजनिक जग्गामा वृक्षरोपण गर्न सकिन्छ ।
बाढी व्यवस्थापनको काम आकस्मिक होइन, नियमित योजना बनाउनुपर्छ । वडा र नगरपालिकाले विपत पुर्व तयारी शीर्षकमा बजेट छुट्याउने व्यवस्था गर्नुपर्छ । स्थानीय तहको वार्षिक योजना/कार्यक्रममा बाढी सम्बन्धी कार्यलाई प्राथमिकता दिनुपर्छ ।
बाढीपछि खाद्यान्न अभाव, सरसफाइ समस्या र रोगको जोखिम उच्च हुन्छ । वडा कार्यालयमा निश्चित मात्रामा चामल, दाल, नुन, खानेपानीको क्लोरीन जस्ता सामग्री भण्डारण गरेर राख्नुपर्छ ।
स्थानीय निकाय, संघसंस्था र गैरसरकारी निकायबीच समन्वय आवश्यक हुन्छ । रेडक्रस, महिला समूह, युवाक्लब, सहकारी संस्था लगायतलाई साथ लिएर योजना कार्यान्वयन गर्न सकिन्छ साथै नगरपालिका र प्रदेश सरकारको प्राविधिक सहयोग लिएर दीर्घकालीन समाधान खोज्न सकिन्छ ।
वर्षायाममा बाढी र नदी कटान एक प्राकृतिक चुनौती हो, जसको असर कम गर्न पूर्वतयारी र स्थानीय सहभागिता अनिवार्य हुन्छ । नगरपालिकाले दीर्घकालीन योजना बनाई, वडाले कार्यान्वयनमा लगेर, र समुदायले सक्रिय सहभागिता जनाएर मात्र सुरक्षित बस्ती निर्माण सम्भव छ । बाढी नियन्त्रणको नाममा केवल संरचनात्मक समाधान होइन, चेतना, शिक्षा, तालिम, पूर्वतयारी र सहकार्यलाई पनि उत्तिकै जोड दिन आवश्यक छ ।
सांकेतिक तस्वीर
नगर क्षेत्रमा चैत, वैशाख, जेठ महिनाको सुख्खा मौसममा हावाहुरीसँगै आगलागीका घटनाहरू समेत बढ्ने गरेका छन् । आगलागीका घटनाहरू अधिकांश घटना बिजुली सर्ट, चुलो वा जलिरहेको दाउराका कारणबाट हुने गरेका छन् । जसका कारण वर्सेनि लाखौंको क्षति हुने गरेको , जसमा घर, गोठ, अन्नपात, लत्ताकपडा जलेर नष्ट हुने गरेका छन् । केही घटनाहरूमा गाई, बाख्रा, कुखुरा जस्ता पशुचौपायाहरू पनि जलेर मरेका छन्, जसले किसानको जीवन नै प्रभावित बनाउने गरेको छ ।
नगरपालिकाले विगत केही वर्षदेखि वारुण यन्त्र खरिद गरी नियमित सञ्चालनमा ल्याएको छ । यसले गर्दा पछिल्ला वर्षहरूमा ठूलो क्षति हुन नपाई आगो नियन्त्रण गर्न सम्भव भएको छ । आगलागी प्राकृतिक कारणले भन्दा बढी मानवजन्य लापरवाही वा सावधानीको अभावबाट हुने गर्छ, त्यसैले रोकथाम र सचेतना नै सबैभन्दा प्रभावकारी उपाय हो । यो संगै घर तथा संरचनामा बिजुलीको तारहरू सुरक्षित तरिकाले जडान गर्नु, नियमित मर्मत गर्नु , सर्ट सर्किट हुने सम्भावना भएका ठाउँहरूमा मिनी सर्किट ब्रेकर (MCB) प्रयोग गर्नु , ग्यास सिलिन्डरको पाइप , रेगुलेटर आदिको नियमित जाँच गर्नु , चुरोट, बीडी, मैनबत्ती, अगरबत्ती जस्ता ज्वलनशील वस्तु उपयोग गर्दा उच्च सावधानी अपनाउनुले पनि आगलागी नियन्त्रण गर्न सकिन्छ ।
सांकेतिक तस्वीर
हावाहुरी र आगलागी प्राकृतिक घटना हुन्, तर सचेत तयारीद्वारा ठूलो क्षति टार्न सकिन्छ। वडा र नगरपालिकाले पूर्वतयारी, जनचेतना, संरचना सुदृढीकरण, तालिम तथा समन्वयात्मक योजना मार्फत समुदायलाई सुरक्षित राख्न सक्दछन् ।
स्थानीय सरकार तथा नागरिकको साझा प्रयासले मात्र प्राकृतिक प्रकोप न्यूनीकरण गर्न सकिन्छ । जोखिमयुक्त स्थानमा ढल, पर्खाल तथा तटबन्ध निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ । समुदायलाई प्रशिक्षण, जनचेतना कार्यक्रम र पूर्व-सतर्कता उपायहरूमा सहभागी गराउनु जरुरी छ ।
बाढी पूर्वसूचना प्रणाली, सामुदायिक स्वयंसेवक टोलिहरू र आपतकालीन राहत केन्द्रहरूको विकासले दीर्घकालीन समाधानमा टेवा पुर्याउनेछ । पथरी शनिश्चरे नगरपालिकामा बाढी, आगलागी र हावाहुरीले वर्षेनि जनताको जीवनयापनमा प्रभाव पार्दै आएको छ । नगरपालिकाले केही प्रयासहरू थालेको भए पनि अझ बढी दीर्घकालीन योजना, पूर्वतयारी, पूर्वसूचना प्रणाली र जोखिम न्यूनीकरणका प्रयासहरूलाई संस्थागत रूप अगाडी बढाउनु अत्यावश्यक छ । स्थानीय समुदाय, नगरपालिका र प्रदेश तथा संघ सरकारबीचको समन्वयले मात्र यी प्रकोपहरूको प्रभाव घटाउन सकिन्छ । नगर र वडा स्तरमा गठन भएका विपत व्यवस्थापन समितिका पदाधिकारीहरुलाई विपत व्यवस्थापन , संभावित जोखिम र न्यूनीकरणका उपायहरुको बारेमा व्यवहारिक तालिमहरु दिन आवश्यक छ ।