युवाशक्ति समेट्नका लागि आफू सभापतिको दौडमा उभिएको जानकारी दिए
बिराटनगर। नेपाली कांग्रेस बिराटनगर महानगरपालिकाको आगामी सभापति चयनका सन्दर्भमा कृष्ण कार्कीको नाम चर्चामा आएको छ। पार्टीभित्र लामो समयदेखि सकृय भूमिका निर्वाह गर्दै आएका कार्कीले संगठन सुदृढीकरण र युवाशक्ति समेट्नका लागि आफू सभापतिको दौडमा उभिएको जानकारी दिएका छन्।
२०३७ सालमा जन्मिएका कार्कीले २०५१ सालमा स्थानीय पोखरिया माध्यमिक विद्यालयमा नेविसंघ इकाई सचिवको जिम्मेवारी सम्हाल्दै राजनीतिक यात्रा सुरु गरेका थिए। त्यसयता उनले संगठनको विभिन्न तहमा भूमिका निर्वाह गर्दै २०६२/६३ को जनआन्दोलनको बेला कांग्रेस र लोकतन्त्रप्रति आफ्नो प्रतिबद्धता झल्काउने कार्य गरे। नेविसंघको केन्द्रीय सहमहामन्त्रीसमेत भइसकेका उनले युवाहरूमाझ लोकप्रियता कमाएका छन्।
२०५४ सालको स्थानीय निर्वाचनको विपक्षमा भएको आन्दोलनका क्रममा उनी करिब एक महिना जेल परेको अनुभव समेत बोकेका छन्। “सङ्गठन बलियो नभई लोकतान्त्रिक पार्टी बलियो हुँदैन”, उनले एक भेटमा भने, “युवाशक्ति पार्टीमा संलग्न गराउन र कांग्रेसको विचारलाई समृद्ध बनाउने अभियानमा म निरन्तर लागिरहेछु।”
कांग्रेसको पछिल्लो १४औं महाधिवेशनमा समेत उनले बिराटनगर महानगरमा शसक्त उम्मेदवारका रुपमा उपस्थिति जनाएका थिए। अहिले उनी फेरि नगर सभापतिको लागि राजनीतिक भेटघाट, संवाद र संगठनात्मक तयारीमा तिव्रता दिइरहेका छन्। पार्टीमा नयाँ विचार र परिवर्तनको अपेक्षा लिएको समूहले कार्कीलाई सम्भावनाशील उम्मेदवारका रुपमा हेरेको देखिन्छ।
उनले हालै दिएको अभिव्यक्तिमा भनेका छन्, “पार्टी सिद्धान्तप्रति समर्पित, विचारशील र नेतृत्वदायी क्षमतायुक्त व्यक्तिले सभापतिकाे भूमिका निर्वाह गर्नुपर्छ। म सबै तहका नेता–कार्यकर्ताको साथ लिएर अघि बढ्नेछु।”
कांग्रेस महानगरको नेतृत्वमा नयाँ ऊर्जा ल्याउन सक्ने युवा पुस्ताका नेताका रुपमा कार्कीको उम्मेदवारीले प्रतिस्पर्धा चर्काउने देखिएको छ। नेपाली कांग्रेस भित्र लोकतान्त्रिक अभ्यास र आन्तरिक प्रतिस्पर्धालाई बलियो बनाउने यो अवसरमा कार्की जस्ता संगठनमैत्री व्यक्तिको भूमिका निर्णायक हुनसक्ने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ।