काठमाडौं, जेठ २८ — पत्रकार दिलभुषण पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिइएको छ। प्रहरीको साइबर ब्युरो, भोटाहिटीले उनलाई सामाजिक सञ्जालमार्फत अपुष्ट जानकारी सार्वजनिक गरेको आरोपमा अनुसन्धान थालनी गरेको हो। ब्युरोले अदालतमा अनुमति मागेसँगै मंगलबार पक्राउ पुर्जी जारी भएको प्रहरीका एक उच्च अधिकारीले पुष्टि गरेका छन्।
पाठकले आफ्नो युट्युब च्यानलमार्फत नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवाले होटल हिलटनमा लगानी गरेको भन्ने सामग्री सार्वजनिक गरेका थिए। सो सामग्री यथार्थपरक नभएको र पुष्टि नगरी प्रकाशन गरिएको दाबी प्रहरीले गरेको छ। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।