पथरी शनिश्चरेका चन्द्र चेम्जोङ सभापतिमा निर्वाचित
बेलबारी । नेपाली काङ्ग्रेस निकट नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बू) को प्रथम मोरङ जिल्ला अधिवेशन बेलबारीस्थित बेतना सिमसारमा सम्पन्न भएको छ ।
आज (मंगलबार) सम्पन्न अधिवेशनले पथरी शनिश्चरेका चन्द्र चेम्जोङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
सर्वसम्मत चयन भएको समितिको उपसभापतिमा सविन उदास लिम्बू, सचिवमा सन्तोष प्राङ्देन लिम्बू, सहसचिवमा गोविन्द लिम्बू र कोषाध्यक्षमा सञ्चमाया लिम्बू रहेका छन् ।
यसैगरी , समितिका सदस्यहरूमा भुपाल लिम्बू, बाबुराम शेर्मा, बादल सुब्बा, गजेन्द्र लिम्बू, सावित्रा लिम्बू, कल्पना लिम्बू, सुजन फागो, अभय लिम्बू र विष्णु लिम्बू रहेका छन् ।
नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता बसन्त भट्टराई, मोरङ जिल्ला सचिव ललित श्रेष्ठ, कोशी प्रदेश सांसद शोभा पालुङ्वा लगायतको उपस्थिति रहेको थियो ।
नेपाल लोकतन्त्रवादी याक्थुङ (लिम्बू) का केन्द्रिय सभापति उत्तम सिंह थाम्देनको अध्यक्षता रहेको कार्यक्रममा कोशि प्रदेशसभा सदस्य शोभा पालुङ्वा , महासमिति सदस्य नगेन्द्र कट्टेल , क्षेत्र नं १ सभापति शंकर राई , क्षेत्र नं ३ प्रदेश ‘क’ सभापति गंगा याक्खा , पथरी शनिश्चरे नगर सभापति रुपनारायण भट्टराई , नेपाल किसान महासंघका केन्द्रिय सदस्य धिरेन्द्र कुमार विश्वास लगायतले शुभकामना मनतव्य राखेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नेपाली काङ्ग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले नेपालको पहिचान र धर्म संस्कृतिको संरक्षणमा लिम्बू समुदायले खेलेको भुमिकाको चर्चा गर्दै नव गठित समितिलाई सफलताको शुभकामना दिएका थिए ।
नवगठित समितिका सभापति चन्द्र चेम्जोङले मोरङ जिल्लाका सबै पालिकाहरू समेटेर आवश्यकतानुसार समिति विस्तार गरिने जानकारी दिएका छन् ।