काठमाडौं । यातायात सम्बद्ध ८ संगठनले भोलिदेखी देशभर अनिश्चितकालीन सार्वजनिक यातायात बन्दको घोषणा गरेका छन् ।
सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले सोमबारदेखि देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय गरेको हो ।
यातायात व्यवसायीहरुको ४ वटा महासंघ र ४ वटा मजदुर संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको हो ।
७ वटा संगठनका अध्यक्षहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिनेगरी ल्याएको नियमावली खारेजीको माग गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२ जेठ १९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाई दिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ ।’