काठमाडौँ : पछिल्लो समय देशमा सवारीसाधन दुर्घटना बढ्दै गएको पाइएको छ। विगत ५ वर्षको दुर्घटना अवस्था विश्लेषण गर्दा सवारी दुर्घटना बढ्दै गएको पाइएको हो।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को ६२औँ वार्षिक प्रतिवेदनमा विगत ५ वर्षको दुर्घटना अवस्था विश्लेषण गर्दा आव २०७६/७७ देखि २०८०/८१ सम्मको औसत वृद्धिदर १२.४८ प्रतिशत रहेको उल्लेख छ।
कुल सवारी दुर्घटना २०७६/७७ देखि २०७८/७९ सम्म वृद्धि हुँदै गएको देखिए तापनि २०७९/८० को तुलनामा २०८०/८१ मा २.८ प्रतिशतले कमी आएको देखिन्छ।गम्भीर घाइते र सामान्य घाइतेको संख्या क्रमशः ७.३५ र ६.१६ प्रतिशतले वृद्धि भएको देखिएको प्रतिवेदनमा उल्लेख छ।
उक्त प्रतिवेदनअनुसार पाँच वर्षको अवधिमा देशभर एक लाखभन्दा बढी सवारीसाधन दुर्घटना भएको सम्बन्धित निकायबाट विवरण प्राप्त भएको छ। आव २०७६ /७७ देखि २०८०/८१ सम्ममा देशभर एक लाख ७ हजार २ सय ६० सवारीसाधन दुर्घटना भएको छ।
पाँच वर्षको अवधिमा देशभर सवारीसाधन दुर्घटनाबाट १२ हजार ३ सय ७१ जनाको ज्यान गएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार आव २०७६/७७ मा १५ हजार पाँच सय ५९ सवारीसाधन दुर्घटना भयो। वृद्धि प्रतिशत १७ छ। उक्त दुर्घटनाबाट दुई हजार २ सय ५१ जनाको ज्यान गयो। चार हजार ६ सय २४ जना गम्भीर र ११ हजार ५ सय ९३ जना सामान्य घाइते भए।
आव २०७७/७८ मा कुल २० हजार ६ सय ४० सवारीसाधन दुर्घटना भयो। यो दर वृद्धि भएर ३३ प्रतिशत पुगेको छ। जसबाट दुई हजार पाँच सय जनाले ज्यान गुमाए। ६ हजार चार सय ४८ जना गम्भीर र १८ हजार ६ सय जना सामान्य घाइते भए।
त्यस्तै,आव २०७८/७९ मा कुल देशभर २४ हजार पाँच सय ३७ सवारीसाधन दुर्घटना हुँदा २ हजार ८ सय ८३ जनाले ज्यान गुमाए। ७ हजार २ सय ८२ जना गम्भीर र २५ हजार ७ सय २२ जना सामान्य घाइते भए।
आव २०७९/८० मा कुल २३ हजार पाँच सय ९७ सवारीसाधन दुर्घटना भयो। जसबाट दुई हजार ३ सय ६८ जनाको ज्यान गयो। पाँच हजार ७ सय ३८ जना गम्भीर र २४ हजार चार सय ८८ जना सामान्य घाइते भए। आव २०८०/८१ मा कुल देशभर २२ हजार ९ सय २७ सवारीसाधन दुर्घटना भयो।
उक्त दुर्घटनाबाट २ हजार ३ सय ६९ जनाको ज्यान गयो। ६ हजार एक सय ६० जना गम्भीर र २५ हजार ९ सय ९६ जना सामान्य घाइते भएको प्रतिवेदनमा उल्लेख छ।
यसरी सवारीसाधन दुर्घटना बढ्नुको कारणमा सवारीसाधन र सडकको अवस्था, सवारी चाप, सडक निर्माण सम्पन्न नहुँदै सडक भत्काउने प्रवृत्ति, चालक अनुमतिपत्र नियमनको कमी, सवारी नियमसम्बन्धी ज्ञानको कमी भएको प्रतिवेदनमा देखाइएको छ।
प्रतिवेदनमा भनिएको छ,‘सवारी चालकको असावधानीलगायतका कारणले सवारी दुर्घटना बढेसँगै मृत्यु, गम्भीर घाइते र सामान्य घाइते हुने सङ्ख्यामा समेत वृद्धि हुँदै गएको देखिन्छ।’
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मुख्य त सवारीचालकहरूको लापरबाहीकै कारण दुर्घटना हुने गरेको जनाएको छ। अवकाशप्राप्त ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथु पनि चालकहरूको तीव्र गतिका कारण दुर्घटना हुने गरेको बताउँछन्।
उनका अनुसार पैसाको लोभले सिट क्षमताभन्दा दोब्बर यात्रु बोक्नु, मादक पदार्थ सेवन गरेर सवारी चलाउनुलगायतका कारण सवारीसाधन दुर्घटना भइरहेको छ। हाल ललितपुर महानगरपालिकाको नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका उनले भने, ‘सडक खाल्डाखुल्डी भएका कारण पनि दुर्घटना हुने गरेको छ।’
काठमाडौँ उपत्यकाका तीन जिल्लामा २ हजार ८४ किलोमिटर सडक रहेकोमा बागमती प्रदेशमा २०८०/८१ सम्म दर्ता भएका सवारीसाधनको सङ्ख्या १९ लाख ८८ हजार ८ सय १९ रहेको छ।
उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न कार्यरत १ हजार ११३ जनशक्तिलाई आधार मान्दा एक जना ट्राफिक प्रहरीले १ हजार ७८७ सवारीसाधन र १.८७ किलोमिटर सडक व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ।
महालेखा परीक्षकको कार्यालयले पछिल्लो समय देशभर सवारीसाधन दुर्घटना बढ्दै गएपछि ट्राफिक व्यवस्थापनमा सुधार गर्न इन्टिलिजेन्ट ट्राफिक लाइट प्रणाली जडानलगायतका कार्यक्रम कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ।
महालेखाले सम्बन्धित निकायहरूबाट सडकको सुधार, सडक क्रसिङ्ग व्यवस्था, पार्किङ्गस्थल, ट्राफिक बत्ती, सीसीटीभी, जडान, सडक सङ्केतलगायतको उपयुक्त व्यवस्था र सवारी ऐन, नियमको पालना एवं अन्तर निकाय समन्वय गरी बढ्दो दुर्घटना न्यूनीकरण गर्नुपर्ने पनि सुझाव दिएको छ।
‘सवारी दुर्घटना हुन नदिन सम्बन्धित सरोकारवाला समेतको समन्वयमा सवारीसाधनको अवस्था, भारवहन क्षमता, यात्रु क्षमता, चालकको अवस्था, सवारीसाधनको गति, ट्राफिक चिह्नको अनिवार्य पालनासम्बन्धी अनुगमनलाई प्रभावकारी बनाउने, काठमाडौँ उपत्यका र देशका अन्य मुख्य शहरमा ट्राफिक व्यवस्थापनमा सुधार गर्न इन्टिलिजेन्ट ट्राफिक लाइट प्रणाली जडानलगायतका कार्यक्रम कार्यान्वयन गर्नुपर्दछ,’प्रतिवेदनमा उल्लेख छ।
महालेखाले उपत्यकाको सवारी व्यवस्थाको हकमा सुरक्षित एवं भरपर्दो बनाउन सडकहरूमा सीसीटीभी, सर्भिलेन्स भेहिकल परिचालन, बडी वर्न क्यामरा, गोप्रो क्यामरा जस्ता आधुनिक प्रविधिहरू जडान गरी यातायात व्यवस्थापनसँग सम्बन्धित सबै निकायसँग समन्वय गरेर प्रभावकारी रूपमा उपत्यकाको ट्राफिक व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको छ।
यता, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनिकरणका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै सामाजिक सञ्जालमार्फत पनि सचेतना दिँदै आएको जनाएको छ।