विराटनगर।अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई गौरवान्वित बनाउने ७ वर्षीय स्केट खेलाडी कुनाल कामतलाई सम्मान गर्ने वाचा विराटनगर महानगरपालिका वडा नं. १२ का अध्यक्ष हिरालाल कामतले अझैसम्म पूरा गरेका छैनन्।
कुनालले २०८१ साल असोज १ देखि ८ गतेसम्म थाइल्याण्डमा आयोजित अन्तर्राष्ट्रिय स्केट प्रतियोगितामा १३ देशका प्रतिस्पर्धीहरूलाई पछि पार्दै ११ स्वर्ण र ३ कांस्य पदक जितेका थिए। यस उत्कृष्ट प्रदर्शनले नेपाललाई मात्र होइन, विराटनगरलाई पनि अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाएको थियो।
उनको यो सफलतालाई मध्यनजर गर्दै वडा नं. १२ का अध्यक्ष हिरालाल कामतले वैशाख महिनाभित्रै सार्वजनिक रूपमा सम्मान गर्ने घोषणा गरेका थिए। तर, उक्त वाचा गरिएको झण्डै ७-८ महिना बितिसक्दा पनि सम्मान कार्यक्रमको कुनै सुरसार नभएकोमा खेलाडीका बुबा सुरज कामतले गुनासो गरेका छन्। पटक-पटक वडा धाउँदा पनि वडा अध्यक्ष नभेटिएको र सोही वडाका वडा सदस्य कुशेश्वर राजवंशीले पनि समय थप गर्ने तर बेवास्ता गरेको कामतले बताए। त्यसैगरी, वडा अध्यक्ष हिरालाल कामतले वडाको खातामा नगरपालिकाबाट बजेट आइपुगिनसकेको बताएका छन्।