रामकुमार परियार

आइतबार, बैशाख २१, २०८२ || 1987  पटक पढिएको

मोरङ । गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिले आफ्नो समुदायको ऐतिहासिक एवम् सांस्कृतिक महत्वको धार्मिक स्थल अतिक्रमण गरेको भन्दै मोरङको कानेपोखरी गाउँपालिकाका धिमाल समुदायले आपत्ति जनाएका छन् ।

कानेपोखरि गाउँपालिकाको वडा नं ७ मा रहेको धिमाल समुदायको ऐतिहासिक तथा सांस्कृतिक स्थल महाराजथान क्षेत्रमा गाउँपालिका र सामुदायिक वन उपभोक्ता समितिले धिमाल समुदायसंग अनुमति नै नलिई धार्मिक स्थलको पहिचान मेटिने गरि ‘पिकनिक स्पोर्ट’ का लागि संरचनाहरु निर्माण गर्न खोजेको भन्दै धिमाल समुदायले कडा आपत्ति जनाएको हो ।

धिमाल जातीय विकास केन्द्र (केन्द्रीय समिति) / धम्कुवागाउँ टोल समिति / कानेपोखरि गाउँपालिका समिति र नेपाल आदिवासी जनजाति महासंघ कानेपोखरिले शनिवार पत्रकार सम्मेलनको आयोजना गरि सो क्षेत्रमा धिमाल समुदायको अनुमति विना संरचना निर्माण गर्न खोजिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा महाराजथान धिमाल शक्तिशाली महिलाको अलिखित इतिहास बोकेको स्थल भएको उल्लेख गर्दै यसलाई समाप्त पार्ने प्रयास अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) महासन्धी १६९ को उल्लंघन भएको दाबी गरिएको छ ।

धिमाल समुदायका अनुसार उक्त स्थल आदिकालदेखि धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको देवथान हो, जहाँ लामो समयदेखि महाराजथान निर्माण गरी पूजाआजा हुँदै आएको छ। तर पछिल्लो समय गाउँपालिका र वन समितिले बिना छलफल संरचना निर्माण गर्न खोज्नु अत्यन्त निन्दनीय भएको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “धिमाल समुदायसँग विना छलफल ऐतिहासिक स्थलको अतिक्रमण गर्नु संविधानको प्रस्तावना, धारा १८ र ३२ तथा आईएलओ १६९ अनुसारको आदिवासी अधिकारको उल्लंघन हो।” साथै, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले संरक्षणमा लागेका अभियन्ताहरुलाई धम्की दिएको घटनाप्रति पनि धिमाल समुदायले घोर भर्त्सना गरेको छ।

महाराजथानको इतिहास, संस्कृति र मिथकहरू समाप्त पार्ने ध्येयले गाउँपालिकाले विगतमा पनि कानको स्तम्भ निर्माण गर्ने , व्यावसायिक संरचनाहरु निर्माण गरेको भन्दै तत्काल ती कदमहरू फिर्ता लिन धिमाल समुदायले माग गरेको छ ।

धिमाल जातीय विकास केन्द्रले देशभरका धिमाल गाउँ–टोल समिति, नागरिक समाज, संस्कृति प्रेमी र आदिवासी अभियन्ताहरूलाई एकताबद्ध भई सांस्कृतिक अतिक्रमणविरुद्ध उभिन आह्वान समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!