सुनसरीमा प्रतिबन्धित औषधि सहित ६ जना पक्राउ परेका छन्। प्रहरीले विभिन्न स्थानबाट ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ।वैशाख १९ गते राति पौने १२ बजे धरान उप-महानगरपालिका-१ स्थित शीतल मार्गमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो। उक्त स्थानबाट भोजपुरका ३० वर्षीय सुजन श्रेष्ठ, १७ वर्षीय अंगत श्रेष्ठ र ३१ वर्षीय सागर राईलाई प्रतिबन्धित औषधि सहित पक्राउ गरिएको छ।
उनीहरुको साथबाट ट्रामाडोल, कोलिवान, स्पास्पेन, डिकोलिक, नाइट्रोजेपाम र एरोमिन्क गरी १० हजार ३ सय १५ ट्याब्लेट, १ ग्राम ७ सय ६० मिलिग्राम ब्राउन सुगर र २ लाख ५३ हजार ७ सय ९६ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, सोही दिन धरान उप-महानगरपालिका-१५ स्थित लक्ष्मन मार्गबाट धनुषा जनकपुर घर भई हाल धरान-१५ मा डेरा गरी बस्ने २५ वर्षीय राहुल शाह र उनकी श्रीमती २४ वर्षीया लक्ष्मी राईको कोठाबाट ५ हजार ५० क्याप्सुल ट्रामाडोल बरामद भएको छ।
यस्तै, धरान-१७ स्थित सियोन मार्गमा डेरा गरी बस्ने ४० वर्षीया ममता भगतको कोठाबाट ट्रामाडोल, स्पास्पेन र ओपाडोल गरी ६ हजार २ सय ८५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीले पक्राउ परेका ६ जनामाथि थप अनुसन्धान गरिरहेको छ।