रंगेली। अप्पन विराटगढ परोपकार समाजको आयोजनामा रंगेली-७ स्थित काली मन्दिर प्राङ्गणमा “हमहुँ गेबैए फगुवा” कार्यक्रम सम्पन्न भएको छ। मैथिली भाषा, लोककला संरक्षण एवं जागरण अभियान अन्तर्गत आयोजित उक्त कार्यक्रमले मिथिला संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी शंकर साह रहनुभएको थियो भने वरिष्ठ अतिथिमा रंगेलीका पूर्व प्रधानाध्यापक सुरेश मिश्रा, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य पन्नालाल मण्डल, उर्मिला मण्डल लगायतको उपस्थिति रहेको थियो। संस्थाकी अध्यक्ष बसुन्धरा झाको नेतृत्वमा सम्पन्न कार्यक्रममा मैथिली अभियानी देवता रानी दत्त, कृति कला कर्ण, सनोज साह, ममता ठाकुर, लक्ष्मी ऋषिदेव लगायतको सहभागिता रहेको थियो।
फगुवा कार्यक्रम अन्तर्गत मिथिला क्षेत्रका विशेष योगदान पुर्याउने ५५ जनालाई मिथिला पेन्टिङ्गले सम्मान गरिएको थियो। साथै, एभिन्युज टेलिभिजनका मोरङ संवाददाता रविन्द्र बराललाई समेत विशेष सम्मान प्रदान गरिएको थियो।
कार्यक्रममा वाल कलाकारहरूले मैथिली गीतमा आकर्षक नृत्य प्रस्तुति दिँदै उपस्थित दर्शकलाई मनोरञ्जन गराएका थिए। आयोजकले आगामी वर्षहरूमा समेत यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।