
विराटनगर।विराटनगर जेसीजको ५२औं वार्षिक पदस्थापन कार्यक्रम शनिबार भव्यताका साथ सम्पन्न भएको छ। वर्ष २०२५ का लागि प्रीतेशराज दाहाल अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचन समितिका आयुक्त अभिनास थापाको नेतृत्वमा सम्पन्न निर्वाचन प्रक्रियाबाट वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा कबिराज दाहाल, कार्यकारिणी उपाध्यक्षमा शिव शंकर मण्डल र अभिषेक भट्टराई, तालिम निर्देशकमा सुभाष भण्डारी, उपाध्यक्षमा रिजन सिग्देल, मनोज तिवारी, शिवराज पोखरेल र अनुज दाहाल तथा जनसम्पर्क अधिकारीमा अभिषेक गौतम निर्वाचित भएका हुन्।

सपथग्रहण कार्यक्रममा वर्ष २०२४ का अध्यक्ष तुलसी निरौलाले निर्वाचित अध्यक्ष प्रीतेशराज दाहाललाई सपथ ग्रहण गराए। अध्यक्ष दाहालले आफ्नो कार्यसमितिका पदाधिकारीलाई समेत सपथ गराउँदै विभिन्न नियुक्तिहरूमार्फत १५ सदस्यीय बोर्डलाई पूर्णता दिए। महासचिवमा प्रबेश दुलाल, कानुनी सल्लाहकारमा रमेश अधिकारी, कोषाध्यक्षमा रन्जन कुमार शाही, सह सचिवमा सबिन अधिकारी मनोनित भएका छन्।
पदस्थापन कार्यक्रममा वर्षभर उत्कृष्ट योगदान पुर्याउने सदस्यहरूलाई विभिन्न पुरस्कारबाट सम्मान गरियो। लक्ष्मी स्मृति उत्कृष्ट शाखा पदाधिकारी पुरस्कार रन्जन कुमार शाहीलाई, धनगंगा अवार्ड मनोज तिवारीलाई, सूर्य कस्तुरी उत्कृष्ट सदस्य अवार्ड प्रबेश दुलाललाई, र उत्कृष्ट अब्जर्भर अवार्ड अनुराग निरौलालाई प्रदान गरियो।
कार्यक्रममा विशिष्ट अतिथि तथा अन्तर्राष्ट्रिय जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष सन्तोष रिजालले जेसीज युवाहरूलाई समाजको नेतृत्व तहमा स्थापित गर्नेतर्फ जोड दिनुपर्ने बताए। नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष फुल कुमार लालावाणीले विराटनगर जेसीजको ५२ वर्षे योगदानको प्रशंसा गर्दै प्रीतेशराज दाहालको नेतृत्वमा संस्थाको पहिचान देशभर फैलिने विश्वास व्यक्त गरे।
कोशी प्रदेशसभा सदस्य भिम पराजुलीले युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकास र उद्यमशीलतामा प्रोत्साहन गर्न विराटनगर जेसीजले उल्लेखनीय भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे। प्रमुख अतिथि प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले ५२ वर्षको गौरवशाली इतिहास बोकेको विराटनगर जेसीजले देश विकासमा अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिइन्।
सपथग्रहण पश्चात् अध्यक्ष प्रीतेशराज दाहालले विराटनगर जेसीजको गरिमालाई उच्च राख्दै नवयुवाहरूलाई आकर्षित गर्न र उद्यमशीलतामा संस्थालाई अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा नेपाल जेसीजका विभिन्न शाखाका २० भन्दा बढी अध्यक्षहरूको उपस्थिति रहेको जनसम्पर्क अधिकारी अभिषेक गौतमले जानकारी दिए।