हिपमत डटकम

बिहिबार, कार्तिक २९, २०८१ || 17099  पटक पढिएको

महोत्तरी । उपनिर्वाचनको चहलपहलले महोत्तरीको राजनीतिक माहोल तताउँदै छ । जिल्लाको रामगोपालपुर नगरपालिका–२ को वडाअध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनले यहाँको राजनीतिक गतिविधि निकै बढेसँगै माहोल तात्दै गएको हो ।

जिल्लामा एउटा वडाध्यक्ष पदका लागि मात्र मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । विभिन्न राजनीतिक दलले त्यही एउटा पदको उपनिर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सबै शक्ति खन्याइरहेका छन् । उम्मेदवारको विधिवत् मनोनयन दर्ता आउने आइतबार हुने भए पनि दलहरुका गतिविधि भने रामगोपालपुर–२ मा एक साता पहिलेदेखि नै सघन देखिँदो छ ।

सो वडामा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)ले दुई÷दुई पटक चुनावी प्रचार ¥याली सम्पन्न गरिसकेका छन् । दुवै दलका कार्यक्रममा उच्च तहका नेताहरुको सहभागिताले उपनिर्वाचनको माहोल झनै तातेको छ ।

माओवादी केन्द्रको कार्यक्रममा सो दलका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, मधेश प्रदेश इञ्चार्ज लीलामणि पोखरेलसहितका नेता सहभागी भएका छन् । त्यसैगरी नेकपा (एमाले) ले पोल्यूटब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी र जिल्लाका पदाधिकारीसहितको सहभागितामा पहिलोचरणको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।

सो वडामा यसअघि माओवादी केन्द्रका मुकेशकुमार यादव निर्वाचित भएका थिए । यादवको दुई महिना पहिले निधन भएपछि अहिले उपनिर्वाचन हुन लागेको हो । यस उपनिर्वाचनमा माओवादी केन्द्रले स्व यादवकी पत्नी आइती यादवलाई उम्मेदवार घोषणा गरेको छ ।

यसैगरी नेकपा (एमाले)ले सकिवुल खानलाई उम्मेदवार घोषणा गरेको छ । यसअघि २०७९ को स्थानीय तह निर्वाचनमा जसपाबाट उम्मेदवार रहेका खान यस पटक एमालेबाट उम्मेदवार घोषणा भएका हुन् ।

यसैगरी नेपाली कांग्रेसले मोहम्मद जनिफ खाँ र जसपाले नजामुद्दिन खानलाई उम्मेदवार बनाउने घोषणा गरेका छन् । जनिफ यसअघिको निर्वाचनमा पनि नेकाकै उम्मेदवार थिए र निकटतम प्रतिस्पर्धी बनेका थिए । जसपाका पहिलेका उम्मेदवार सकिवुल भने एमाले प्रवेश गरेपछि सो दलले नजामुद्दिनलाई उम्मेदवार घोषणा गरेको छ ।

यसअघिको निर्वाचनमा विजयी हुने मुकेशकुमार यादवले ४३३, निकटतम प्रतिस्पर्धी नेकाका जनिफ खाँले ३७५, जसपाका सकिवुल खानले ३४२ र एमालेका कादिर हुसैनले २८७ मत प्राप्त गरेका थिए । सो वडामा दुई हजार २०० मतदाता छन् ।

वडामा यसअघि निर्वाचन जितेको माओवादी केन्द्र आफ्नो ठाउँ गुम्न नदिन भरपुर प्रयत्नमा देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!