बिहिबार, चैत्र १३, २०७६ || 933  पटक पढिएको

कोरोना भाइरसको सम्भावित सङ्क्रमण रोक्न सरकारले घोषणा गरेको लकडाउनको प्रभाव पोखरामा दिनप्रतिदिन प्रभावकारी बन्दै गएको छ । लकडाउनको शुरुका दुई दिनका तुलनामा आज बिहान पोखरामा मर्निङवाकमा निस्कनेको सङ्ख्या निकै कम देखिएको छ । मर्निङवाकमा फाट्टफुट्ट निस्कनेलाई पनि यसअघिजस्तै सुरक्षाकर्मीले सम्झाएर फर्काउने गरेका छन् । लकडाउनसँगै मर्निङवाकका विकल्पमा अधिकांशले घर कम्पाउन्डभित्रै शारीरिक व्यायाम गर्ने अभ्यास बढाएसँगै बाहिर सडकमा निस्कने क्रम रोकिँदै गएको छ । लकडाउनको दोस्रो दिन बुधबार सम्पूर्ण यातायात, बजार तथा आवतजावत पूर्णतः बन्द भएको र अवज्ञा गर्ने थोरै सवारीलाई मात्र नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिनुभयो । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा बुधबार अधिकांश पसल, व्यवसाय तथा यातायात पूर्णतः बन्द थियो । आवतजावत गर्ने सर्वसाधारणलाई सुरक्षाकर्मीले सचेत बनाउँदै घरमा फिर्ता गरेका थिए । “लकडाउनको पहिलो दिन अवज्ञा गरी हिँड्ने ३७५ सवारी नियन्त्रणमा लिइएकामा दोस्रो दिन १६७ मात्र सवारी साधन नियन्त्रण गरिएको थियो”, रोकाले भन्नुभयो । उहाँका अनुसार अवज्ञा गर्ने अधिकांश सवारी साधनमा मोटरसाइकल र स्कुटर छन् । पोखरामा लकडाउनको पहिलो दिनको तुलनामा दोस्रो दिन सवारी साधनलाई नियन्त्रणमा लिनुपरेको बताउँदै उहाँले सडकमा पैदल निस्कने क्रम पनि दिनप्रतिदिन कम हुँदै गएको बताउनुभयो । लकडाउन प्रभावकारी भइरहेको र प्रत्येक सर्वसाधारणलाई स्वास्थ्यप्रति बेलैमा सचेत बन्दै आगामी दिनमा समेत सरकारको अभियानमा सहयोग गर्न आग्रह गरेको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालयले औषधि उपचार, खाद्यवस्तु खरिदलगायतका अत्यावश्यकीय काममा बाहेक कोही पनि व्यक्तिलाई लकडाउन अवधिभर घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभयो । लकडाउनको अवस्थामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्यान्न, पानी, दूध, विद्युत्, औषधि र ग्यास तथा पेट्रोलियम पदार्थ बिक्रीवितरण अनिवार्य गर्न आग्रह गरिएको उहाँको भनाइ छ । यस अवधिमा अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्य र सुरक्षासँग सम्बन्धित सवारीलगायतका दैनिक अत्यावश्यक उपभोग्य वस्तुको ढुवानी गर्ने सवारीलाई सञ्चालन गर्न रोक नलगाइएको प्रशासनले स्पष्ट पारेको छ । पत्रकारका लागि जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएको पासका आधारमा सूचना तथा समाचार सङ्कलनका लागि आवाजजावत गर्न पाउने गरिएको प्रशासनले जनाएको छ । प्रशासनले आम मानिसमा डर तथा त्रास सिर्जना गर्ने, आतङ्कित तुल्याउने गरी सामाजिक सञ्जाल तथा अन्य विद्युतीय माध्यममा भ्रामक सूचना प्रसारण गरेको भेटिएमा समेत कानूनबमोजिम कडा कारवाही गर्ने चेतावनी दिएको छ । कोरोना सङ्क्रमणको जोखिमबाट जोगिनका लागि प्रदेशमा आवश्यक तयारी गरिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिनुभयो । सर्वसाधारणलाई कोरोना सङ्क्रमणको आशङ्का लागेमा टेलिफोनमार्फत आफ्नो स्वास्थ्य समस्याबारे बुझ्नका लागि सञ्चालित हेलो डक्टर कक्षमा बुधबार पनि ठाउँठाउँबाट २० जनाले सोधेर परामर्श लिएको उहाँले जानकारी दिनुभयो । “मङ्गलबार मात्रै १४ जनाले फोन गरेर परामर्श लिएका थिए”, उहाँले भन्नुभयो, “हालै विदेशबाट आएका व्यक्तिका छिमेकीले समेत व्यक्तिको लक्षणलगायतका विषयमा पनि सोधपुछ गर्ने गरिएको छ ।” आजैदेखि नेपाल टेलिकमसँगको सहकार्यमा हेलो डक्टरकक्ष टोल फ्रि नम्बरसहित सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!