विराटनगर — पूर्वमुख्यमन्त्री केदार कार्कीले सरकारले आफ्नो उठाउँदै आएका मागप्रति बेवास्ता गरिरहेको आरोप लगाउँदै अनसन बस्ने पुरानै अडान दोहोर्याएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान पोस्ट गर्दै उनले प्रदेशमा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार, महिला स्वास्थ्य स्वयम् सेवकलाई प्रोत्साहन भत्ता, शैलजा आचार्य मुटु रोग उपचार केन्द्र सञ्चालन, र सुनसरी र मोरङका चार पालिकामा बाढी र डुबानबाट सुरक्षा गर्न केसलिया कारिडोर निर्माण जस्ता मागलाई पुनः उठाए।
“जनजीविका र जनता केन्द्रित कार्यक्रमलाई सरकार र सम्बन्धित पक्षबाट बेवास्ता गरिरहेको छ,” कार्कीले भने, “मैले संसदमा अनसन बस्ने घोषणा गरेको छु, यसमा पछि हट्ने छैन र मृत्युमा जान पनि तयार छु।” उनले आधिकारिक रूपमा नसुन्ने मुख्यमन्त्रीलाई स्मरण पत्र पठाउने पनि जानकारी दिए।