काठमाडौँ। राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुसालले संविधान संशोधनको हालको प्रयास समानुपातिक समावेशी लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने उद्देश्यले गरिएको आरोप लगाएका छन्। उनले आइतबारको राष्ट्रिय सभा बैठकमा भने, “संविधान संशोधनको हालको मापदण्ड र उद्देश्यमा स्पष्टता आवश्यक छ। संविधान असंशोधनीय दस्तावेज होइन, तर यसको संशोधन किन र कस्तो उद्देश्यले गर्ने भन्ने प्रश्न महत्त्वपूर्ण छ।”
भुसालले अहिले संविधान संशोधनको चर्चा तीव्र भइरहेको सन्दर्भमा दुई दलीय व्यवस्था कायम गर्नको लागि गरिएको संशोधनलाई स्वीकार्न सकिने स्थिति नभएको बताए। उनले भने, “यदि संविधान संशोधनको उद्देश्य समानुपातिक समावेशी लोकतान्त्रिक प्रणालीलाई भत्काउन र दुई दलीय व्यवस्था कायम गर्न हो भने, यो सह्य छैन।”
साथै, उनले सरकारलाई भ्रष्टाचार र अनियमितताका बढ्दो समस्यामा गम्भीर ध्यान दिनको लागि आग्रह गर्दै, संविधानका मूलभूत मान्यताहरूमाथि प्रहार नगर्नुपर्ने बताएका छन्।