विराटनगर/ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अघिल्लो महाधिवेशनमा पराजित भएपनि निकटतम प्रतिद्वन्द्वी भएको कारण आगामी महाधिवेशनमा स्वतः उम्मेदवारी दिने कुरा बताएका छन्।
डा. कोइरालाले हाल देशभर भ्रमण गर्दै नेता र कार्यकर्तासँग संवाद गरिरहेको र उम्मेदवारीको विषयलाई विशेष महत्व दिनुपर्ने जिकिर गरे। उनले मुलुकलाई स्थायीत्व दिनका लागि ठूला दलबीचको समिकरणलाई सफल बनाउन महत्त्वपूर्ण रहेको बताए।
उनले राजनीतिक स्थायीत्वका लागि संविधानमा सुधार गर्न र निर्वाचन प्रणालीमा आवश्यक संशोधनको आवश्यकता रहेको धारणा राखे।
कोशी सरकारका विषयमा केन्द्रमा छलफल भइरहेको अवस्थामा, एक साताभित्र कांग्रेस सरकारमा सहभागी हुने सम्भावना रहेको जानकारी पनि दिए।