बुधबार, चैत्र १२, २०७६ || 846  पटक पढिएको

कोरोना भाइरसको सङ्क्रमण र रोकथामका लागि सरकारले अवलम्बन गरेको लकडाउनले अत्यावश्यक वस्तुको कृत्रिम अभाव र महँगी हुन सक्ने विचार गरी प्रदेश सरकारले बजारको आकस्मिक अनुगमन गरेको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखराको शान्तिवनस्थित कृषि उपज बजारको आकस्मिक अनुगमन गर्दै बजारमा पर्याप्त तरकारी र फलफूल रहेको तर बिक्रीवितरणको समय कम भएको व्यवसायीको गुनासो रहेको बताउनुभयो । “अहिले बिहान ४ बजेदेखि ६ बजेसम्म दुई घण्टा मात्रै बजार खुल्ने गरेको छ तर यो अवधि पर्याप्त नभएको र झन् भीड भएको व्यवसायीको गुनासो छ, हामी यसमा पुनर्विचार गरेर समस्या समाधानको पहल गर्नेछौँ । अहिले तरकारी, फलफूलको आपूर्ति र मूल्यमा त्यस्तो समस्या छैन ” उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले अत्यावश्यक वस्तुभित्र तरकारी, फलफूल, दूध पनि पर्ने भएकाले यसको आपूर्ति र बिक्रीवितरणको अवस्था बुझ्न र जानकारी लिन अनुगमन गरिएको बताउनुभयो । “तरकारी फलफूलको दैनिक आवश्यक वस्तु हुन्, सहज आपूर्ति भएन भने बिग्रन सक्छ, तसर्थ सहज आपूर्तिको उपयुक्त विकल्प के हुन सक्छ भनेर अनुगमन गरिएको हो ।” कृषि बजारको थोक मूल्य १५ दिनअघि र अहिलेको मूल्य एउटै रहेको उहाँको भनाइ छ । “बजारमा १५ दिनसम्म पुग्ने तरकारी, फलफूल छन् । अब फुुटकरमा कसरी बिक्रीवितरण हुन्छ त्यसको पनि निगरानी गरेर बढी मूल्यमा बेचेको पाइए नियन्त्रणमा लिएर कारवाही हुन्छ ”, उहाँले भन्नुभयो । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक गोकुल शर्मा पौडेलले अनुगमनका क्रममा अत्यावश्यक वस्तुको अभाव र मूल्यवृद्धि नदेखिएको बताउनुभयो । “बाहिर जस्तो खालको हल्ला छ, बजारम त्यस्तो पाएनौँ, तरकारी प्रशस्त छ, मूल्य पनि यथावत् नै छ ।” उहाँले उपभोग्य वस्तु प्रशस्त उपलब्ध भए पनि केही व्यक्तिले अत्यधिक खरीद गरिदिँदा केही समस्या देखिएको बताउनुभयो । कृषि उपज बजारका व्यवसायी राजकुमार गुप्ताले बङ्गलादेश र भारतदेखि आएका सामान बीचमा अड्किएको र बिक्रीवतरणका लागि दुई घण्टाको अवधि थोरै भएको बताउनुभयो । “ जम्मा दुई घण्टा भयो बिहान ४ बजेदेखि ८ बजेसम्म, स्वास्थ्य सतकर्ततासहित सावधानी अपनाएर बिक्रीवितरण गर्न वातावरण भए तरकारी फलफूलहरु वितरण सहज हुन्थ्यो र कुहिएर फाल्नु पर्ने अवस्था आउँदैनथ्यो ।” कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले तरकारी र फलफूल छिट्ट बिग्रने भएकाले यसको बिक्रीवितरणमा उच्च स्वास्थ्य सतर्कता अपनाएर वितरणमा सहज बनाउन सकिने बताउनुभयो । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराका प्रमुख प्रशान्त पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीलगायतको टोलीले अत्यावश्यक उपभोग्य वस्तुको अनुगमन गरेको हो । टोलीले कास्कीको कृषि उपज बजार र दुग्ध उद्योग पनि अनुगमन गरेको थियो । —

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!