अस्ट्रेलियामा कोरोना संक्रमितको संख्या २ हजार पुगेको छ भने ८ जनाको मृत्यु भएको छ । मृतक र संक्रमितको संख्या बढेसँगै सरकारले थप कडाई गर्नेबारे सोच्दैछ । प्रधानमन्त्री स्कट मोरिर्सनले आज क्याविनेटमा छलफल गर्ने भएकाले दोस्रो चरणका नियम घोषणा हुनेबारे अनुमान गरिएको छ ।
अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले दोस्रो चरणमा के हुनेछ भन्नेबारे स्पष्ट पारेनन् । तर, आजै राती यस विषयमा छलफल हुने बताए ।
‘सामान्य निर्देशन मानिसले धेरै समय घरमा बिताउँन् र एकअर्कासँग दूरीमा रहुन् भन्ने हो,’ उनले भने, ‘हामी चरणवद्ध रुपमा कडाई गर्दैछौं । हामी अन्य देशमा के
भइरहेको छ भन्ने विषयमा जानकार छौं र यसको प्रशंशा पनि गर्छौ, हामी सबैले एकअर्काबाट सिक्ने हो । तर अहिले हामीले धेरै समय घरमा बस्न, कम समय समूहमा बस्न प्रोत्साहन गर्छौं ।’ हन्टले स्टेज टुमै पूर्ण लकडाउन नहुने बताए । ‘विभिन्न चरणपछि मात्रै हामी आवश्यकता हेरेर पूर्ण लकडाउन गर्छौ । स्टेज टु यो प्रक्रियाको अन्तिम चरण होइन, ’ उनले भने । एजेन्सी