कोरोनाभाइरसका कारण समस्यामा परेको अमेरिकी अर्थव्यवस्थाको उद्धारका लागि भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा अमेरिकी माथिल्लो सदन सिनेटमा प्रस्तुत एक खर्ब अमेरिकी डलरको एक प्रस्ताव बहुमत नपुग्दा तुहिएको छ । उक्त प्रस्तावको विपक्षमा रहेका डेमोक्रेटिक पार्टीका सदस्यहरुले मतदानमा भाग लिएका थिएनन् भने रिपब्लीकन पार्टीका पाँच सदस्य कोरोनाभाइरसको संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेका कारण सिनेटको मतदानमा उपस्थित हुन पाएका थिएनन् । डेमोक्रेट्सका सांसदहरुले रिपब्लिकन पार्टीले अघि सारेको योजनाले लाखौं अमेरिकी कामदारलाई पर्याप्त संरक्षण गर्न नसक्ने आरोप लगाएका थिए । उनीहरुको भनाईमा कोरोनाभाइरसबाट संक्रमित व्यक्तिलाई आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्ध गराउन पनि प्रस्तावित योजना असफल रहेको छ । विधेयकमा अमेरिकी परिवार र हजारौं बन्द उद्योग व्यवसायलाई मद्दत गर्न झन्डै एक खर्ब ७० अर्ब वा सोभन्दा बढी रकम खर्च गर्ने प्रस्ताव गरिएको थियो । रिपब्लिकन, डेमोक्रेट्स र राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनबीच गहन वार्ताका बाबजुद सिनेटमा भएको मतदानमा पक्ष र विपक्षमा बराबर अर्थात् ४७–४७ मत परेको थियो । उक्त विधेयक पारित गर्न १०० सदस्यीय सिनेटमा ६० मत आवश्यक पर्ने व्यवस्था छ । सिनेटर र्यान्ड पल समेतका पाँच जना रिपब्लिकन सिनेटरहरु अहिले स्व–क्वारेन्टाइनमा रहनु भएको छ । उहाँहरु सिनेटको मतदानमा उपस्थित हुनु भएको थिएन । सिनेटर पलले आइतबार आफूलाई कोेविड१९ सक्रमण भएको घोषणा गर्नु भएको थियो । आर्थिक सहयोगको उक्त विधेयक पारित गर्न आइतबार विस्तृत छलफल भए पनि सहमति जुट्न सकेको थिएन । सिनेटमा वरिष्ट डेमोक्रेट्स सदस्य चक सुमर र अमेरिकी अर्थमन्त्री स्टिभन मुन्चिनबीच “आर्थिक प्याकेजमा सहमति जुटाउन राती अबेरसम्म वार्ता भएको” सुमरका एक प्रवक्ताले बताउनुभयो । सिनेटमा सहमति हुन नसक्दा त्यसको पहिलो असर सोमबारको अमेरिकी शेयर बजारको कारोबारमा देखिने छ । पछिल्ला दुई महिनामा नै अमेरिकी शेयर बजार डाउजोन्समा झण्डै १० हजार अंकको गिरावट आइसकेको छ । पछिल्ला दिनहरुमा मुख्य अमेरिकी स्टक एक्सचेन्जमा चार प्रतिशत वा सोभन्दा बढी घट्दै गएको छ । वाल स्ट्रिटको कारोबार सोमबार निकै घट्ने अनुमान गरिएको छ । हङकङ शेयर बजार सोमबार पाँच प्रतिशतले घटेको थियो । सिनेटका बहुमत पक्षका नेता मिच म्याकोनेलले आर्थिक प्याकेज पारित नभएपछि डेमोक्रेटिक पार्टीमाथि चर्को आलोचना गर्नु भएको थियो । उहाँले अमेरिकी कङ्ग्रेसले तुरुन्तै उचित कदम नचाले अमेरिकाले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु पर्ने चेतावनी दिनुभयो । उहाँले “अमेरिकी अर्थव्यवस्था र अमेरिकी जनतासँग खेलवाड गर्ने अहिले समय होइन । हामीले जनतामा संसद र सरकार तिम्रो साथमा छ भन्ने भरोसा जगाउन सक्नु पर्दछ ।” डेमोक्रेटिक सिनेट सदस्य सुमरले संसदमा प्रस्तुत विधेयकले अमेरिकी कामदारलाई पर्याप्त मात्रामा समर्थन गर्न नसक्ने दाबी गर्नु भयो । उहाँले अर्थव्यवस्थामा आउने संकटका कारण करोडौंले आफ्नो जागिर गुमाउने जोखिम रहेको बताउँदै प्रस्तावित विधेयकले उत्पन्न हुनसक्ने श्रमिकलाई पर्याप्त सुरक्षा प्रदान नगरेको दाबी गर्नु भयो । उहाँले रिपब्लिकनले अस्पताल, उपकरण, चिकित्साकर्मी र अन्य स्वास्थ्य सेवा पूर्वाधारको कमीलाई सम्बोधन गर्न पर्याप्त रकम व्यवस्था नगरेको आरोप लगाउनुभयो । यद्यपी वार्तामा ट्रम्पका प्रमुख प्रतिनिधि अर्थमन्त्री मन्चिनले प्रस्तावित विधेयकले आम श्रमजीवी जनता र श्रमिक सहित स्वास्थ्य सेवा प्रदान गर्नेतर्फ पर्याप्त व्यवस्था गरेकाले आइतबार उक्त विधेयक पारित हुने आशा व्यक्त गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!