हिपमत डटकम

शनिबार, बैशाख ३०, २०८० || 5707  पटक पढिएको

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले भ्रष्टाचारको गन्धमात्रै आए जो–कोहीलाई पनि कारबाही हुने बताउनुभएको छ। प्रेस सेन्टर नेपाल काठमाडौंको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री मोदीले भ्रष्टाचार नियन्त्रणमा सरकार पूर्णरूपमा लागिपरेको र कोही कसैलाई पनि छुट नदिइने बताउनुभयो।

उहाँले भन्नुभयो, “विभिन्न मन्त्रालयमा हाम्रै मन्त्रालय मातहतका कर्मचारी हुनुहुन्छ, मैले सबैलाई भनेको छु, भ्रष्टाचारको गन्धमात्रै आएको खण्डमा पनि कारबाही हुन्छ।” भ्रष्टाचारलाई निर्मूल पारी सुशासन कायम गर्ने गरी कार्यसम्पादन गर्न आफूले सबैलाई निर्देशन दिएको बताउँदै उहाँले भ्रष्टाचारको गन्धमात्रै आउने गरी काम देखिए कारबाही गर्ने बताउनुभयो।

मन्त्री मोदीले अहिलेको सरकारको प्राथमिकता भनेकै सुशासन कायम गर्ने भएकाले कर्मचारीबाट त्यसको कार्यान्वयन हुनुपर्ने उल्लेख गर्नुभयो।

“प्रधानमन्त्रीको पहिलो मिसन भनेको सुशासन हो। सामाजिक न्याय, सुशासन र विकास र समृद्धि अहिलेको सरकारको मुख्य मिसन हो। यसबाहेक अन्य कुरामा ध्यान दिएको खण्डमा सबैलाई जुनसुकै हदसम्मको कारबाही हुन्छ”, उहाँले भन्नुभयो।

आफूले सम्हालेको मन्त्रालयमा सुशासनसँग जोडिएका दूरगामी महत्त्वका काम अगाडि बढाएको बताउँदै उहाँले भन्नुभयो, “सङ्घीय निजामती सेवा ऐन ल्याउने र सुशासन कायम गर्ने विषय नै मेरो पहिलो प्राथमिकताको विषय हो, अहिले हामी निमित्तको शासन हटाउने काममा लागेका छौँ।”

मन्त्री मोदीले अगाडि भन्नुभयो, “मैले मन्त्रालयको नेतृत्व सम्हालेपछि स्थानीय तहमा निमित्त नदिने, जसको जहाँ दरबन्दी छ त्यहाँ फर्किने गरी नीतिगत निर्णय गरेका छौँ। अहिले झण्डै एक सयको हाराहारीमा निमित्त हटाएका छौँ, यो क्रम जारी रहन्छ।”

कसैको सोर्सफोर्स नसुनीकन बढुवा भएका उपसचिवलाई स्थानीय तहमा खटाएको जानकारी दिँदै उहाँले सरकारले खटाएको स्थानमा नजानेलाई कारबाही हुने बताउनुभयो। आफूले दुई महिनामा सबै सरोकारवालासँग छलफल गरेर सङ्घीय निजामती सेवा ऐन कानुन र अर्थ मन्त्रालयमा रायका लागि पठाएको बताउँदै उहाँले भन्नुभयो, “कुनै पनि हालतमा सङ्घीय निजामती ऐन ल्याइछाड्ने अहिलेको सरकारको सङ्कल्प हो, हामीले दुई महिनामा सबै पक्षसँग छलफल गरेर यो ऐन रायका लागि कानुन र अर्थ मन्त्रालयमा पठाएका छौँ, यो ऐन हामी कुनै पनि हालतमा ल्याउँछौँ।”

मन्त्री मोदीले समाजको खराब मनोविज्ञान चिर्नका लागि प्रेस सेन्टरले अग्रमोर्चामा रहेर भूमिका निर्वाह गर्नुपर्ने बताउँदै सरकारको काम कारबाहीलाई सकारात्मकरूपमा प्रचार–प्रसार गर्नका लागि यो क्षेत्रको भूमिका महत्वपूर्ण रहेको समेत औँल्याउनुभयो।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का नेता कुमार पौडेल, प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटालगायतले जनतालाई सही सूचना प्रदान गर्न प्रेस सेन्टरको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!