बुधबार, चैत्र ०५, २०७६ || 846  पटक पढिएको

“आदारणीय अभिभावकज्यूहरु, तपाईंको वडामा यही चैत्र १ गतेदेखि २९ गतेसम्म दादुरा–रुवेला खोप अभियान सञ्चालन हुँदैछ । यस अवसरमा नौ महिनादेखि ५९ महिनाका सबै बालबालिकालाई नजिककैको खोप केन्द्रमा ल्याइदिनुहुन अनुरोध छ । प्रार्थी नगरप्रमुख, गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र स्वास्थ्य संस्था प्रमुख ।” स्वास्थ्य सेवा कार्यालयमार्फत सरोकारवाला निकायले यहाँका सात स्थानीय तहमा बालबालिका भएको सबै घरमा पठाएको निमन्त्रणा कार्डमा उल्लेख भएको वाक्य हो, यो । जाजरकोटका सबै स्थानीय तहका जनप्रतिनिधिले अहिले सन्देशसहितको चिठ्ठी बोकेर घर–घरमा पुगी निम्तो बाँडिरहेको छन् । कोही पनि नछुटुन् भनेर घर–घरमा गएर सन्देश, निम्तासहितको कार्ड वितरण गरिएको र अनिवार्य खोप लगाउन मौखिमरूपमा समेत निम्ता दिइएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जानकारी नपाएर पनि धेरै अभिभावकले बालबालिकालाई खोप दिन भुलेको अवस्था छ, यसमा हामी सबैले जोडदारका साथ अभियानमा लागेर सफल बनाउनुपर्छ, राज्यको सेवासुविधा सहीरूपमा सदुपयोग गर्न म सबैलाई अनुरोध पनि गर्दछु ।” घर–घरमा निम्ता कार्ड बोकेर खोप लगाउन सल्लाह दिँदै हिँडेका जनप्रतिनिधि देखेर स्थानीयवासी खुशी भएका छन् । बारेकोट गाउँपालिका–५ का जनकबहादुर शाहीले भन्नुभयो, “महिला स्वयंसेविकाले खोपका विषयमा अलि–अलि जानकारी गराएको त थाहा थियो, योपटक जनप्रतिनिधि आफैँले सही गरेको कार्ड बोकेर घरघरमा आउँदा अलि फरक मात्र होइन, खोप लगाउन बाध्यसमेत पारिदिएको छ ।” सञ्चार सेवाको पहुँच नभएका जाजरकोटका दूरदराजमा खबर मात्र होइन सञ्चारको कामसमेत जनप्रतिनिधिबाट हुँदै आएको छ । यो कार्यक्रम सफल बनाउका लागि सात स्थानीय तहका जनप्रतिनिधिलाई सुक्ष्म योजना तालिम दिइएको छ । त्यस्तै खोप कार्यक्रमका लागि एकदिने अभिमुखीकरण तालिमसमेत दिइएको स्वास्थ्य सेवा कार्यालयका खोप सम्पर्क व्यक्ति शान्तबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार पत्रकार, नागरिक समाज, प्रमुख जिल्ला अधिकारी, प्रहरीसमेत सचेतना गोष्ठीमार्फत आवश्यक जानकारी दिइएको छ । खोपको प्रभावकारी तथा सही सदुपयोग भएको वा नभएको बारेमा अनुगमनसमेत गर्ने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो । नेपालबाट दादुरा–रुवेला रोग पूर्णरूपमा निवारण गरौँ भन्ने खोप कार्ड स्वास्थ्य संस्था र अभिभावकप्रति सबै विवरण भरेर अभिलेखीकरणसमेत गरिएको छ । यो अभिलेखीकरणले कति बालबालिका खोपको पहुँचमा आए भन्ने स्पष्ट हिसाब आउने बुढाथोकीले बताउनुभयो । के हो दादुरा र रुवेला रोग रु दादुरा अति छिटो सर्ने सङ्क्रामक रोग हो । मिजल्स नामक भाइरसका कारण यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । रुवेला पनि रुवेला भाइरसका कारण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । पाँच वर्षभन्दा मुनिका बालबालिकालाई छिटो सर्ने सरुवा रोग हो । छिट्टै महामारीको रुपमा लिन सक्ने अवस्था भएको रोग भएकाले यसलाई सरकारद्वारा विशेष महत्व दिइएको छ । बालमृत्युदर उच्च हुनुमा यी रोगले प्रमुख भूमिका खेलेको स्वास्थ्य मन्त्रालयको भनाइ छ । जिल्लाको जुनिचाँदे, शिवालय र छेडागाड नगरपालिकामा चैत १ देखि ९ सम्म, नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा चैत ११ देखि १९ गतेसम्म तथा भेरी नगरपालिका र कुशे गाउँपालिकामा चैत २१ देखि २९ गतेसम्म खोप लगाइने स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!