शुक्रबार, मंसिर २०, २०७६ || 2172  पटक पढिएको

राकेश कर्ण
हिपमत डटकम
विराटनगर ,मंसिर २० ।
विराटनगरको मुख्य सडकखण्ड र अन्य शाखा सडक खण्डहरुमा सवारी दुर्घटना बढ्दै गएको छ । सडकमा जथाभाबी खुला छोडिएका छाडा चौपाया र पशुसँग ठोक्किएर पछिल्लो समय सडक दुर्घटनाको संख्यामा उल्लेख्य रुपमा वृद्धि हुँदै गईरहेको छ । यसले गर्दा एकातर्फ दुर्घटनाको जोखिम बेहोर्नुपर्ने अवस्था त छदै नै छ, त्यहीँ अर्कोतर्फ पनि यसले भने विराटनगरमा अनावश्यक रुपमा घण्टौं ट्राफिक जाम लाग्ने गरेको छ । तर छाडा चौपाया नियन्त्रणका लागि विराटनगर महानगरपालिका र जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गले खासै चासो देखाएका छैनन् ।
विराटनगर–ईटहरी ६ लेन कोशी राजमार्ग अन्तर्गत खुला छोडिएका छाडा चौपायाका कारण सडक दुर्घटनाको जोखिम उच्च छ । सडकमा जथाभाबी छाडिएका छाडा चौपाया सडकको बिच भागमा आवतजावत गर्ने र बिच सडकमै बस्ने गरेका कारण दैनिकजसो सवारी दुर्घटना भइरहेका छन् । सवारी दुर्घटनाको कारणले गर्दा आम नागरिकका साथसाथै सडकमा रहेका ती छाडा चौपायाहरुको समेत मृत्यु हुने गरेको छ । विराटनगरमा खास गरेर रातिको समयमा सडकमा बसेका छाडा चौपायाहरु ठीकसँगले नदेखिने हुँदा ठोक्किएर बढी सवारी दुर्घटना हुने गरेको छ । छाडा चौपाया व्यवस्थापन र नियन्त्रणका लागी महानगरपालिका र ट्राफिक प्रहरी कार्यालयद्धारा हालसम्म गरिएका प्रयासहरु विफल झैं देखिएका छन । छाडा चौपाया नियण्त्रणका लागी कुनै ठोस कदम नचालिँदा पटक–पटक गरिएको पहलले पनि सार्थकता पाउन सकेको छैन ।
छाडा चौपायाकै कारण आर्थिक बर्ष २०७५÷०७६ मा ७ वटा सडक दुर्घटना भईसकेका छन् । दुर्घटनामा परी दुई चौपाया र व्यक्तिको मृत्यु समेत भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गको प्रतिवेदनमा उल्लेख छ । ट्राफिकको तथ्याङ्कअनुसार मोरङ्गमा हरेक महिना ३७ देखि ४० वटा सडक दुर्घटना हुने गरेका छन् । दुर्घटनामा परी प्रत्येक महिना ६ जनाको मृत्यु र १३ जना गम्भीर घाइते हुने गरेका छन् । छाडा पशु चौपाया, तीव्र गति र मादक पदार्थ सेवले १ बर्षको अवधिमा जम्मा ४ सय ८४ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गको तथ्याङ्गकले देखाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गका प्रहरी निरीक्षक राकेश कुमार पोद्धारले छाडा चौपाया नियन्त्रणका लागी आफुले विराटनगर महानगरपालिकासँग समन्वय र आवश्यक पहल गरिरहेको बताउनुभयो । उहाँले महानगरपालिकाले व्यवस्थित काञ्जी हाउस सञ्चालनमा ल्याउन नसकेकाले पनि यो समस्या बढदै गईरहेको जानकारी दिनुभयो ।
सडकपेटीमा खान, बस्न र हिँड्न पाएका गाईगोरु तथा खच्चरहरुले साँझ तथा रातको समयमा सडकका मुख्य चोक तथा बीच सडकमै अस्तव्यस्त अवस्थामा पशुचौपाया छरिएर बस्दा सवारीसाधन सञ्चालनमा असहज हुनाका साथै दुर्घटनामा समेत वृद्धि भएको छ । जथाभावी पशुचौपाया बजारमा छाड्नाले धेरै सर्वसाधारण देखि फलफुल र तरकारी व्यापारीहरुलाई बढी सास्ती खेप्नुपरेको उनीहरु बताउँछन । लामो समयदेखि रहेको छाडा पशुचौपायाको समस्या समाधान गर्न स्थानीय निकायले पनि कार्ययोजना बनाएर ध्यान दिनु जरुरी रहेको स्थानीयहरुकोे भनाई छ ।
सोही बिषयमा बोल्दै विराटनगर महानगरपालिकाका पशु चिकित्सक शुभ नारायण यादवले छाडा चौपायाहरुलाई नियन्त्रण गर्न महानगरपालिकाले बार्षिक ५० हजार रुपैया बजेट छुट्याएर बर्षमा ३ पटक नगरबासीलाई जथाभाबी छाडाचौपाया खुला नछोडिदिन माईकिङ गर्दै आएको बताउनुभयो । उहाँले सुचना सुनेर पनि अटेर गर्नेलाई दण्ड जरिवाना समेत गर्दै आएको बताउनुभयो । उहाँले यसको प्रभावकारी समाधानका लागी आवश्यक पर्ने कान्जि हाउस निमार्णका लागी महानगरपालिकाले रु. १५ लाखको बजेट छुट्याएको जानकारी दिँदै यो रकम अपुग भएको उल्लेख गर्नुभयो । चिकित्सक यादवले महानगरपालिकासँग भएको बजेटले जग्गा किनेर कान्जि हाउस बनाउन सम्भव नहुने भएकोले अहिले महानगर एनजीओ, आईएनजीओ र ट्रष्टको पर्खाइमा रहेको बताउनुभयो ।
महानगरपालिकाले सडकमा जथाभाबी जीवजन्तु तथा पशुपन्क्षी खुला छोडेमा गाई, भैंसी, रागोँ र साढेँ को रु. ५००, भेँडा, बाख्रा, खसी र बोका को रु. २५०, बंगुर र सुङगुरको रु. २५०, घोडा र खच्चरको रु. ५०० तथा हाँस र कुखुरा ईत्यादिको रु. १०० का दरले दण्ड जरिवाना गर्दै आएको छ । तर जरिवानाले मात्रै समस्याको दीर्घकालीन समाधान निस्कन्छ जस्तो देखिँदैन । समग्रमा भन्दा बजेट अभावकै कारण नगरबासीले यी समस्याहरु झेल्नुुपरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!