सोमबार, चैत्र ०३, २०७६ || 884  पटक पढिएको

घोराही उपमहानगरपालिकाभित्र बसोबास गर्ने कुल जनसङ्ख्याको करीब २४ प्रतिशत जनसङ्ख्याले थारू भाषा बोल्छन् । अन्य भाषाको तुलनामा सो भाषा बोल्ने धेरै छन् । सोही कारण उपमहानगरपालिकाले थारू भाषालाई अहिले प्राथमिकतामा राखेको छ । उपमहानगरको २०७४ साउनमा बसेको कार्यपालिका बैठकले नगर क्षेत्रका सरकारी कार्यालयमा थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको थियो । उक्त निणर्य केही हदसम्म व्यवहारमा लागू गरिएको छ । नगरले गर्ने नगरसभा वा अन्य सार्वजनिक महत्वको कार्यक्रममा नेपाली भाषासँगै थारू भाषामा ब्यानर लेखिएका हुन्छन् । यसलाई सरकारी कामकाजको रुपमा महत्व दिएसँगै नगरले थारू भाषालाई प्राथमिकतामा राख्न फेरि नयाँ कार्य शुरु गरेको छ । उपमहानगरपालिकाले थारू भाषाको पाठ्यक्रमको निर्माण गर्न थालेको छ । देश सङ्घीय संरचनामा गएपछि माध्यमिक तहसम्मको शिक्षाको अधिकार स्थानीय तहलाई दिएकाले विभिन्न स्थानीय तहले आ–आफ्नो स्थानीय तहअनुसार पाठ्यक्रम निर्माण गर्ने अधिकार पाएको हुँदा घोराहीले यसलाई व्यावहारिक कार्यान्वयनको प्रयास थालेको छ । जिल्लामा यसरी पाठ्यक्रम निर्माण गर्न थालिएको सम्भवतः यो नै पहिलो हो । जिल्लामा १० स्थानीय तह छन् । कसैले पनि आफ्नै पालिकास्तरीय पाठ्यक्रम निर्माण शुरु गरेका छैनन । जिल्लामा थारू, मगर र अवधि भाषामा अध्यापन गराइए पनि पाठ्यक्रम निर्माण भएको थिएन । पाठ्यक्रम निर्माणका लागि उपमहानगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरेर विज्ञ व्यक्ति तथा संस्थालाई प्रस्ताव आह्वान गरेको छ । गत फागुन ८ गते बसेको नगर शिक्षा समितिको बैठकले थारू भाषामा पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरले प्राथमिक विद्यालयसम्मको पाठ्यक्रम निर्माण गर्न थालेको शिक्षा युवा तथा खेलकूद महाशाखाका शाखा अधिकृत नारायणप्रसाद पौडेलले जानकारी दिनुभयो । पाठ्यक्रम निर्माण गरेर नगरमा रहेका प्राथमिक विद्यालयमा लागू गरिने शाखा अधिकृत पौडेलले बताउनुभयो । पाठ्यक्रम तयार गरिसकेपछि पाठ्यपुस्तक प्रकाशनका लागि पाठ्यपुस्तक विकास केन्द्रलाई प्रदान गरिने बताइएको छ । “नगर क्षेत्रमा रहेका इच्छुक विद्यालयमा थारू भाषाको पाठ्यक्रम लागू गरिनेछ”, अधिकृत पौडेल भन्नुभयो, “सबै विद्यालयमा लागू हुनेछैन ।” आउँदो शैक्षिक सत्रबाट लागू गर्ने तयारी गरिएको शिक्षा युवा तथा खेलकूद महाशाखाले जनाएको छ । पाठ्यक्रम निर्माणका लागि रु एक लाख ५० हजार विनियोजन गरिएको छ । स्थानीय पाठ्यक्रमलाई प्राथमिकता दिनुपर्ने उद्देश्यअनुसार नै उपमहानगरपालिकाले थारू भाषाको पाठ्यक्रम निर्माण गर्न लागेको हो । पाठ्यक्रम अनिवार्यभन्दा पनि रुचि राख्ने विद्यालयमा लागू गरिने अधिकृत पौडेलले बताउनुभयो । थारू बस्ती बढी रहेका विद्यालयहरुमा लागू गर्ने तयारी भएको उपमहानगरका सूचना अधिकृत भीमबहादुर चौधरीले बताउनुभयो । “बालबालिकाले आफ्नै मातृभाषामा अध्ययन गर्न पाउँदा बालबालिकामा सिकाइसँगै थारू भाषाको संरक्षणमा सहयोग पुगोस् भन्ने अपेक्षा छ”, अधिकृत चौधरीले भन्नुभयो । थारू भाषाको पाठ्यक्रम एक सय पूर्णाङ्कको रहनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!