हिपमत डटकम

शुक्रबार, माघ २०, २०७९ || 2742  पटक पढिएको

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा चालु आर्थिक वर्षको छ महिनामा दुई सय ५७ वटा नयाँ उद्योग थपिएका छन् । पर्यटन तथा उद्योग कार्यालय नवलपरासीपूर्व नवलपुरको तथ्याङ्कअनुसार नयाँ थपिएका उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक साना उद्योग धेरै छन् ।

नवलपुर कृषि र पर्यटनको सम्भावना भएको जिल्ला भएकाले यसतर्फ नयाँ उद्योग दर्ता हुने क्रम बढेको छ । राज्यले कृषिमा दिने अनुदान सहयोगका कारणसमेत यस्ता खालका उद्योग दर्ताको क्रम बढेको हुनसक्ने पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालले बताए । “यहाँ कृषि, पर्यटन र सेवामूलक उद्योग दर्ताको क्रम धेरै छ, सायद जिल्ला यसका लागि अनुकूल भएर हुनसक्छ, साथै कृषितर्फ राज्यले दिने अनुदान सहयोगका कारणसमेत आकर्षण भएको हुनसक्छ”, उनले भने।

वाणिज्यतर्फ भने नवलपुरमा तीन सय ६८ वटा नयाँ व्यवसाय थप भएका छन् । छ महिनाको अवधिमा यो सङ्ख्यामा नयाँ वाणिज्य दर्ता भएको कार्यालय प्रमुख खनालले बताए । नवलपुरमा उद्योग तथा वाणिज्यको कुल सङ्ख्या १५ हजार दुई सय ५० पुगेको छ । चालु आर्थिक वर्षमा थपिएका नयाँ उद्योग तथा वाणिज्यको सङ्ख्या जोड्दा यो मात्रामा आर्थिक क्रियाकलापमा संलग्न उद्योग तथा वाणिज्य नवलपुरमा रहेका पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख खनालले बताए ।

जिल्लामा आर्थिक क्रियाकलापमा संलग्न उद्योग तथा वाणिज्य राजमार्गमा जोडिएका पालिकामा नयाँ थपिने क्रम धेरै रहेको छ । त्यसको तुलनामा पहाडी क्षेत्रमा भने निकै कम मात्रामा उद्योग तथा वाणिज्य थपिने क्रम रहेको छ । जिल्लाको सदरमुकाम कावासोतीसहित देवचुली, गैँडाकोट र मध्यविन्दुमा नयाँ उद्योग तथा वाणिज्य दर्ता हुने क्रम धेरै रहेको छ ।

यसैबीच उद्योग तथा पर्यटन कार्यालयले चालु आर्थिक वर्षमा थपिएका नयाँ उद्योग तथा वाणिज्य दर्ताबाट रु ४० लाख छ हजार राजस्व सङ्कलन गरेको छ । जसमध्ये उद्योग दर्ताबाट रु १८ लाख ८८ हजार छ सय २५ र वाणिज्य दर्ताबाट रु २१ लाख १७ हजार चार सय ५० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख खनालले बताए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!