हिपमत डटकम

आइतबार, माघ १५, २०७९ || 6228  पटक पढिएको

विराटनगर । विराटनगरमा माघ १९ देखि हुने सीएनआई एक्स्पोमा घरेलु तथा साना उद्यमीका उत्पादनलाई प्रवद्र्धन गर्न अल्लोको कपडादेखि विभिन्न स्वादका अचारका स्टल रहने भएका छन् । एक्स्पोको साझेदार संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको समन्वयमा लघु, घरेलु, साना र कृषि उद्यमीहरुका लागि मात्रै ७२ वटा स्टल रहने जनाइएको छ ।

ताप्लेजुङको राडी, तेह्रथुमको ढाका, भोजपुरको खुकुरी, विभिन्न जिल्लामा निर्मित हस्तकलाका सामानहरु, घरेलु सामग्रीबाट निर्मित जुत्ताचप्पल, ढाकाका कपडा, विभिन्न जातका फलफुल र अचारका स्टलहरु रहने छन् । त्यसैगरी हिमाली जिल्लाका जडिबुटी औषधी, छुर्पी, मह, चिज, अकबरे खोर्सानी लगायतका अर्गानिक कृषि उत्पादन पनि एक्स्पोमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौलाले बताए ।
विशेष गरी महिलाहरु संलग्न भएर सुरु गरिएका लघु तथा घरेलु उद्योग, कृषिजन्य वस्तुका विशेष उत्पादनलाई एक्स्पोका माध्यमबाट बजारसम्म पु¥याउने र उनीहरुलाई पनि खुल्ला बजारमा पहुँच स्थापित गर्ने उदेश्यका साथ स्टलका लागि समन्वय गरिएको निरौलाले जानकारी दिए ।

‘यो एक्स्पोमा हामी पनि साझेदारका रुपमा रहेका छौं, त्यहि भएर अनेकौं प्रकारका लघु तथा घरेलु, कृषि उद्यमहरुको प्रवद्र्धनका लागि हामीले एक्स्पोमा विशेष स्थान पाएका छौं’ उनले भने, ‘हरेक उद्यमीलाई ठुला उद्योगीहरु सरह आफ्ना उत्पादनको प्रदर्शनी र विक्री वितरण गर्ने अवसर मिलेको छ, यो हाम्रो लागि निकै ठुलो उपलब्धि ठानेका छौं ।’

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले एक्स्पोको सहयोगी संस्थाका रुपमा रहेर आफ्नो क्षेत्रको व्यापार व्यवसायको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गरेको छ । महासंघकै कारण जुटबाट बनेका र अरु धेरै हस्तकलाका सामग्रीहरुलाई ठुला व्यवसायीले जस्तै प्रदर्शन गरेर उपभोक्तासमक्ष पु¥याउन लागेको महासंघकी महिला उपसमितिकी अध्यक्ष सुनिता छाराहाङले बताइन् । 
आफ्नै लघु उद्योगबाट उत्पादित भएको क्लिनिङ साबुन, फिनेल लगायतका सामग्री एक्स्पोमा राख्न पाएको उद्यमी रेखा चौधरीले सुनाइन् । त्यसैगरी अगरबत्ती, मसला लगायतका वस्तुहरुको उत्पादन गर्दै क्रमशः उत्पादन वृद्धि गर्दै लगेपनि बजार निर्माणमा शीप र ज्ञान नभएका कारण पछि परेको अनुभव भइरहेको बेलामा एक्स्पोमा स्टल पाएर आफ्नो उत्पादन प्रदर्शन र विक्री वितरण गर्ने अवसर हुन लागेकोमा महिला उद्यमी सोमी चौलागाँई पनि हर्षित बनिन् ।

सीएनआई कोसी एक्स्पो २०७९ मा चार सय बढि स्टलहरु रहने एक्स्पोकी सह–संयोजक गिरिजा सारडाले बताइन् । उनले महिलाहरुलाई स्टल राख्नका लागि विशेष रुपमा प्रोत्साहन गरिएको पनि जानकारी दिइन् ।
एक्स्पो माघ २८ गतेसम्म चल्ने जनाइएको छ । विराटनगर–२ शंकरपुरमा एक्स्पोको तयारी तिब्र पारिएको छ । एक्स्पोमा स्टल बुक गरेका उद्यमी र उद्योगी व्यवसायीहरुका लागि आइतबारसम्म सुविधा सम्पन्न डोमहरु हस्तान्तरण गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!