हिपमत डटकम

आइतबार, माघ ०८, २०७९ || 1217  पटक पढिएको

विराटनगर÷ विराटनगर महानगरपालिकाले आयोजना गरेको मेलमिलापकर्ताहरुका लागि मेलमिलापसम्बन्धी तालिम सम्पन्न भएको छ । तीन चरणमा आयोजित तालिममा विराटनगर महानगरका १९ वटै वडाबाट ६–६ जना मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो । तालिममा सहभागीहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ मा उल्लेख भएका विवादहरुको निरुपण गर्नेछन् । तालिमलाई सम्बोधन गर्दै महानगरका मेयर नागेश कोइरालाले सामान्य विवाद गाउँस्तरमै मिलाउन सकिए न्यायिक समितिमा आइरहन नपर्ने बताए ।

उनले मेलमिलापकर्ताले गाउँ र टोलमा हुने सामान्य विवाद मिलाउन सके न्यायिक समितिमा देखिएको चाप कम हुने उल्लेख गरे । मेलमिलापकर्तामार्फत विवादको निरुपण गरिए न्यायिक समिति र अदालतमा जाँदा हुने सर्वसाधारणको खर्चसमेत जोगिने दाबी गरे । “घरझगडा, साँधसिमाना, जग्गालगायतका सामान्य विवाद मेलमिलाकर्ताले मिलाए न्यायिक समितिमा आउँदा लाग्ने खर्च जोगिनेछ,” मेयर कोइरालाले भने, “यसमा तपाईं मेलमिलापकर्ताहरुको भूमिका अहम रहनेछ ।”

उपमेयर शिल्पा निराला कार्कीले सर्वसाधारणको न्यायमा सहज पहुँचका लागि तालिम फलदायी हुने उल्लेख गरिन् । स्थानीयस्तरमा हुने सामान्य विवाद समाधानका लागि मेलमिलापकर्ताहरुकोभूमिका महत्वपूर्ण हुने कार्कीको भनाइ थियो । समापन समारोहमा न्यायिक समितिका संयोजक तीर्थेन्द्र न्यौपाने, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ८ का वडाध्यक्ष राम पोखरेल, १४ का अध्यक्ष सूर्यनारायण महतो, महानगरको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, कानुन शाखा प्रमुख शारदा थपलिया तथा सहभागीका तर्फबाट चिरञ्जीवी चापागाईं र लक्ष्मी भट्टराईले मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला न्यायाधीश राजेश कटवाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत, कानुन व्यवसायी कला त्रिताल, पुनरावेदन अदालत विराटनगरको कानुनी सहायता समितिका अधिकृत राजकिरण पौडेल र सामाजिक अभियन्ता सरिता अधिकारीले प्रशिक्षण दिएका थिए । तीन चरणमा ७ दिनसम्म सञ्चालन भएको तालिममा १९ वटा वडाका ११४ जना मेलमिलापकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!