हिपमत डटकम

बुधबार, माघ ०४, २०७९ || 2962  पटक पढिएको

विशेष गरेर आफ्नो सीप प्रयोग गरी बनाइएका परम्परागत शैलीका सामग्री बिक्री गर्न पुरुष हिँड्ने चलन छ । घरायसी काम गर्न महिला घरमै बस्ने र पुरुष खर्चको जोहो गर्न सामग्रीको बिक्री गर्न हिँड्ने गर्दछन् ।

तर गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल कालीगण्डकी नदीको किनारा रिडीमा लागेको माघी मेलामा फरक दृश्य देखिएको छ । यहाँ ग्रामीण भेगका महिला आफैँ आत्मनिर्भर बन्ने अठोटका साथ आफैँले बनाएका सामग्री लिएर बेच्नको लागि टाढाटाढाबाट आएका हुन् ।

रुकुम पूर्वबाट आफ्नो सीपले बनाएका सामग्री बिक्री गर्न ३५ जनाको समूह रिडीमा आएको छ । जसमध्ये ३१ महिला रहेको सुन्पुरा बुढाले बताइन् । उनीहरुले विशेष भेडाको ऊनबाट बनेका राडीपाखी, काम्ला र गलैँचालगायत सामग्री लिएर बेच्न आउने गरेका छन्।

बुढा उमेरले ५६ वर्ष पुगिन् । यसरी वर्षभर घरमा फुर्सदको समयमा ऊनबाट सामग्री निर्माण गर्ने र मेलामौकामा बेच्न थालेको ३० वर्षअघि देखि हो । घरमा श्रीमान्ले भेडा पाल्ने र आफूहरु सामग्री बेच्नको लागि टाढाटाढा पुगेर जीविकोपार्जन गर्ने गरेको पुथा उत्तरगङ्गा गाउँपालिका रुकुमपूर्वकी सुन्पुराले बताइन् ।

आफैँले सङ्घर्ष गरेर आत्मनिर्भर बन्ने दौडमा रहेको सुन्पुरा बुढाको भनाइ छ । “महिलाले घरायसी काम मात्र गर्नुपर्छ भन्ने पनि छैन”, उनले भनिन्, “म त धेरै वर्षदेखि आफैँ आत्मनिर्भर बनेर घर खर्च चलाएकी छु ।” मेहनत र परिश्रम गरेपछि कुनै समस्या नहुने बुढाले बताउनुभयो । रुकुम पूर्वबाट आफैँले भेडाको ऊनबाट बनाएका सामग्री बेच्नको लागि १६ वर्षदेखि ६६ वर्ष उमेर समूहका महिला गुल्मीमा आएका छन् ।

उनीहरुले एक हजारदेखि दुई हजारसम्ममा विभिन्न काम्ला, राडीपाखी र गलैँचा बेचिरहेका छन् । दैनिक चारदेखि पाँच हजारसम्मको बिक्री भइरहेको अर्की खीमा छन्त्यालले जानकारी दिइन्।

आफूहरु अरु कसैको भर पर्न नपरोस् भन्ने हेतुले फुर्सदको समयमा निर्माण गरिएका सामग्री बेच्न ल्याएको सोही समूहकी सर्मीला बुढाले बताइन्। “हामी आफैँले बनाएका सामग्री बिक्री मेलामा विभिन्न जिल्लामा पुग्छौँ”, उनले भनिन्, “ब्यापरसँगै सीपको संरक्षण र आफैँ आत्मनिर्भर बन्न सकेका छौँ ।” जाडोयाममा निकै तातो हुने भेडाको ऊनबाट बनेका कपडा लोप हुँदै गएकोले आफू यसमा होमिएको सर्मीलाले बताइन् ।

भेडा आफैँले पालेर त्यसको ऊनबाट गरिएको यो अर्को आम्दानी हो । आफूले धेरै भेडा पालेर ऊन महिला किन्न आउँदा दिने गरेको रुकुम पूर्वकै रामकुमार बुढाले बताए । उनले दुई सयभन्दा बढी सङ्ख्यामा भेडा पालन गरे । बुढाले वर्षको दुई पटक असोज र चैतमा भेडाबाट ऊन निकान्छन् । १० वटा भेडाबाट निकाएलिएको सबै ऊनले एउटा काम्लो बन्ने उहाँको भनाइ छ । कम्तीमा ५० देखि ६० को सङ्ख्यामा भेडाहरु ३५ जनाकै घरमा पालेको उनहरुले बताए ।

रुकुम पूर्वबाट गाडी चढेर सामग्री बिक्रीका लागि गुल्मीको रिडीमा पुस मसान्तमा आएका उनीहरु माघ ५ गतेसम्म बस्ने छन् । उनीहरुका कारण रिडीमा लाग्ने माघी मेलालाई परम्परागत हस्तकलाबाट निर्मित सामग्रीको ब्यापर मेला पनि भन्ने गरिन्छ ।

रुरु क्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले रिडीमा लाग्ने मेलामा परम्परागत सामाग्रीको किनबेचले थप रौनकता थपेको बताए । टाढाटाढाबाट आएर हस्तकलाबाट निर्मित सामग्री बेच्ने व्यवसायीलाई सहजीकरण गरिरहेको उनको भनाइ छ । रिडीमा रुरु फ्रेन्ड क्लबले माघी मेला आयोजना गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!