नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले देश समाजवादी क्रान्ति र रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ।
शुक्रबार मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्नुहुदै उहाँले २०६२/६३ सालमा नेपालको पूँजीवादी जनवादी क्रान्ति सम्पन्न भएको भन्नुहँदै अब वैज्ञानिक समाजवादको लक्ष्यसहित एकताबद्व र एकीकृत पार्टी निर्माण गर्नुपर्ने आवश्यकता रहेको विचार राख्नुभयो।
नेता खनालले भन्नुभयो, “अब हाम्रो देश समाजवादी क्रान्ति र रुपान्तरणको नयाँ युगमा प्रवेश गरेको छ। तदनुरुप अगाडि बढाउन शक्तिशाली पार्टी निर्माण बनाउन आवश्यकता छ। एकताबद्व र एकीकृत पार्टी निर्माण गर्नुपर्नेछ। क्रान्तिकारी विचार भएको वैज्ञानिक समाजवादको लक्ष्य लिएको पार्टी हामीले निर्माण गर्नुपर्नेछ।”
अहिले निर्वाचित भएका नेतृत्व वैचारिक, राजनीतिक, सैद्धान्तिक र कार्यशैलीको हिसाबले पनि दक्षिणपन्थी भासमा फस्दै गएको उहाँले बताउनुभयो।
हामी यो देशमा भूमिसुधार, राष्ट्रियता, शिक्षा र स्वास्थ्यमा बेग्लै क्रान्ति गर्न सक्थ्यौं तर, ती सम्पूर्ण सम्भावनालाई दक्षिणपन्थी भड्काउले खरानी बनाएको उहाँको धारणा राख्नुभयो।
उहाँले पार्टीलाई रुपान्तरण, सुदृढिकरण गर्ने काममा अझ बढी सफलता प्राप्त गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो।