राष्ट्रिय जनमो र्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गर्नुभएको छ।
उहाँले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई समर्थन गरेको भन्दै देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गर्नुभएको हो। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले राष्ट्रिय जनमोर्चा एक्लै भए पनि प्रतिपक्षमा रहने बताउनुभयो। उहाँले आफ्ना गल्ती पन्छाउने र एउटा दललाई सरकारबाट निकालेर आफू सरकारमा बस्न सबै दल एक ठाउँमा भएको हुनसक्ने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘‘नेपालमा आज विचित्र के भयो भने भएभरका सबै सरकारमा सामेल हुने, सरकारलाई समर्थन गर्ने भनेर लागेका छन्, यहाँभन्दा हाइसन्चो अरु के हुन्छ ? सत्ता पक्षमा बस्नेलाई यहाँ भन्दा आनन्द के हुन्छ ? यो कुन किसिमको समर्थन हो। मैले बुझ्न सकिन। आफ्ना गल्ती पन्छाउन र एउटालाई सरकारबाट पन्छाएर आफू आउने खेल त होइन ! यसो गरेर देश बन्छ ? सरकार चल्छ ? यस खालको दृश्य डरलाग्दो छ।’’
अध्यक्ष केसीले बोरामा पैसा लगेर चुनाव जितेर आएकाबाट सरकारमा नगइ, देशको प्राकृतिक श्रोत, साधनको दोहन नगरी चुनावको खर्च नउठ्ने भएकाले सबै एक ठाउँमा जम्मा भएको हुनसक्ने बताउनुभयो।