केवल तथा नेटको तार व्यवस्थापनमा महानगर कठोर बन्दै

अटेर गर्ने कम्पनीका तार महानगरले काट्ने

हिपमत डटकम

सोमबार, पौष २५, २०७९ || 661  पटक पढिएको

विराटनगर । यही पुस २८ गते बिहीबारदेखि विराटनगर महानगरले केवल तथा नेटको तार व्यवस्थापन गर्ने भएको छ ।

सोमबार विराटनगरस्थित केवल तथा नेट व्यवसायीका प्रतिनिधिलाई बोलाएर महानगरले तारको व्यवस्थापन गर्ने निर्णय गरेको हो । पहिलो चरणमा हिमालय रोडबाट तारको व्यवस्थापन गरिनेछ । अटेर गर्ने कम्पनीको तार काट्न मेयर नागेश कोइरालाले निर्देशन सम्बन्धित शाखालाई दिनुभयो ।

उहाँले विराटनगरलाई अब यथास्थितिमा राख्न नसकिने बताउँदै केवल र नेटको तारका कारण महानगरको सौन्दर्यतामा ह्रास आएको बताउनुभयो । मेयर कोइरालाले यसअघिको बैठकले गरेको निर्णय कार्यान्वयनमा बेवास्ता भएपछि पुनः बैठक राखेर समयसीमा नै तोकिएको उल्लेख गर्नुभयो । गत असोज १३ गते पनि बैठक राखेर केवल तथा नेट व्यवसायीलाई तार व्यवस्थापन गर्न निर्देशन दिइएको थियो । “अव्यवस्थित तारका कारण विराटनगरको सुन्दरतामा कमी आएको छ,” मेयर कोइरालाले भन्नुभयो, “तपाईंहरु आफैंले व्यवस्थित गर्नु भएन भने हामी आफैं काटेर हटाउँछौं ।”

उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाको समेत उपस्थितिमा भएको बैठकले चैत मसान्तभित्र विराटनगरका सबै तार व्यवस्थापन गरिसक्ने निर्णयसमेत गरेको छ । केवल तथा नेट व्यवसायीहरु आफैंले तारको व्यवस्थापन गर्नुपर्नेछ । व्यवस्थापन नगर्ने कम्पनीका तार महानगरले काटेर हटाउनेछ ।

तार व्यवस्थापनका लागि सहजीकरण गर्न महानगरले इन्जिनियर अनिल सिंहलाई जिम्मेवारी तोकेको छ । बैठकमा नेपाल टेलिकम, म्याक्स, सुविसु, वल्र्डलिंकलगायत विभिन्न कम्पनीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!