हिपमत डटकम

सोमबार, पौष २५, २०७९ || 1462  पटक पढिएको

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सरकारका गृहमन्त्री रवि लामिछानेले नेपाली जनताको आशाको मतलाई खेर जान नदिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठकमा आज सोमबार दलको तर्फबाट सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले सो कुरा बताउनुभएको हो । जनताले जानेर वा नजानेर असाध्य राम्रोसँग मतदान गरेको उहाँले चर्चा गर्नुभयो । नयाँलाई अवसर र पुराना दललाई सचेत गराउने गरी मत आएको उहाँको भनाइ छ ।

जनमतअनुसारको सरकार निर्माण भएको बताउँदै गृहमन्त्री लामिछानेले भन्नुभयो, “सरकारको साझा न्यूनतम कार्यक्रम मार्फत जनताको अपेक्षा समाधान गर्नेछौँ, त्यही नै सही उपाय हो ।” जनजीविकाको सवालमा साझा न्यूनतम कार्यक्रमले सम्बोधन गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

संसद् प्रतिपक्षी दलको रहेकाले रचनात्मक सुझाव र अभियान चलाउन सके राम्रो हुन्छ भन्नुहुँदै गृहमन्त्री लामिछानेले प्रतिपक्षी भड्काउने होइन, बनाउनेतर्फ पहल लिनुपर्ने उहाँले बताउनुभयो । यसअघिका तमाम बेतिथिको जबाफदेहिता जनताले खोजेको चर्चा गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, “कुनै पनि कालखण्डका भ्रष्टाचारका विषय निर्ममतापूर्वक छानबिन गर्न हामी अग्रसर हुनेछौँ, सरकार निर्मम भएर खडा हुनेछ ।”

जनप्रतिनिधिहरू जिम्मेवार हुन सकेमा जनताको अपेक्षा पूरा गर्न सहज हुने उहाँले बताउनुभयो । आफ्नै समस्या, पिर मर्का र तानातानमा अल्झियौँ भने जनताको अपेक्षा पूरा हुँदैन चर्चा गर्नुहुँदै गृहमन्त्री लामिछानेले गल्ती गर्नेलाई पुरापुर छानबिन गर्ने अवसर प्रदान गर्न र राजनीतिक रूपले छुटाउन लबिङ नगर्न आग्रह गर्नुभयो । आफ्नोतर्फबाट कुनै अनियमितता नगर्ने र कुनै काण्डमा नफस्ने उहाँले बताउनुभयो । जनताको सामु शिर झुकाउने काम नगर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

संसद्को गरिमामय अवस्थामा उपस्थित हुने अवसर प्रदान गर्नुभएको भन्दै उहाँले मतदातालाई धन्यवाद व्यक्त गर्नुभयो । नेपालको राजनीतिमा नयाँ पार्टीको उदय ठूलो कुरा नभए पनि जनताको विश्वास आफूहरूले प्राप्त गरेको उहाँले चर्चा गर्नुभयो । नेपालीको जनता र मुलुकको हितका लागि सांसदले सदुपयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!