नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताउनुभएको छ।

शनिबार पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै संसद्का दोस्रो, तेस्रोलगायत अन्य दलले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पार्नुभएको हो।

उहाँले आफ्नो व्यक्तिगत धारणा भए पनि पार्टीको औपचारिक निर्णय भने पुस २६ गतेको बैठकले नै तय गर्ने बताउनुभयो। उहाँले अन्य दल मिलेर गठबन्धन बनाएर साझा उम्मेदवार उठाइरहेको बेलामा काँग्रेसले विश्वासको मत दिन्छ भन्ने सोचेर नबस्न आग्रह गर्नुभयो। उहाँले नेपाली कांग्रेस प्रतिपक्षमा बसेर नै आफ्नो जिम्मेवारी पूरा गर्ने उहाँको भनाइ छ।

महामन्त्री थापाले भन्नुभयो, ‘२६ गते जुन दिन संसदमा प्रधानमन्त्रीले विश्वासको मतका लागि आफूलाई प्रस्तुत गर्दै हुनुहुन्छ, त्यही दिन बिहान ९ बजे हामी बैठक बस्छौँ। त्यो बैठकमा निर्णय गर्नेछौँ। नेपाली कांग्रेस पार्टीले यो बेलामा संसदभित्र दोस्रो, तेस्रो पार्टी मिलेर गठबन्धन बनाएर विश्वासको मत लिन उम्मेदवार प्रस्तुत गरेपछि त्यहाँ विश्वासको मत दिने कुरा सामान्य छलफलको विषय होइन। हामी प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो। नेपाली कांग्रेस अहिले विश्वासको मतको खिलाफमा उभिन्छ, प्रतिपक्षमा बस्छ भन्नेकुरा स्पष्ट छ।’

महामन्त्री थापाले नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पुस २८ गतेबाट बस्ने र बैठकले निर्वाचन, राजनीतिक घटनाक्रमको बारेमा विस्तृत छलफल गर्ने बताउनुभयो। उहाँले गठबन्धन गरेकोदेखि गठबन्धनलाई टिकाउन नसकेको बारेमा पनि केन्द्रीय समितिको बैठकमा गहन, खुला र पारदर्शी छलफल हुने पनि बताउनुभयो।

महामन्त्री थापाले नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर कांग्रेसको प्रतिष्ठामाथि आँच पुर्याउन खोजेको बताउनुभयो। उहाँले जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्षसँग पार्टी सभापति शेरबहादुर देउवासँगको भेट शीर्ष नेताहरुबीचको सामान्य भेटघाट रहेको स्पष्ट पार्नुभयो। उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गर्ने भन्ने कुरा निराधार रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘अरू दलका नेताहरू सभापतिसँग भेट्न उहाँहरू नै समय मागेर आउनुभएको हो, शीर्ष नेताको बीचमा सामान्य छलफल हो, कांग्रेसले अरू पार्टीलाई प्रधानमन्त्रीको अफर गर्ने कुरा अफवाह हो, निराधार हो, कानुनले नै मिल्दैन।’

महामन्त्री थापाले केन्द्रीय समितिको बैठकबाट नीति अधिवेशनको तिथि, मिति ठाउँ तय हुने पनि बताउनुभयो। उहाँले नीति अधिवेशन कसैलाई मागेको नभई आफ्नो गर्ने कामको बारेमा जानकारी गराएको बताउनुभयो। केही समयअघि पार्टी महामन्त्री थापा र विश्वप्रकाश शर्माले नीति अधिवेशनको माग गरेको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!