उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले उद्योग व्यवसायको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बुधबार नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले विगतका सरकारले उद्योगी व्यवसायीहरुलाई जस्तो आँखाले हेरेपनि वर्तमान सरकारले रातो कार्पेट ओछ्याएर स्वागत गर्ने बताउनुभएको हो ।

उहाँले उद्योग व्यवसायको सुरक्षाका लागि गृह मन्त्रालयले गर्नुपर्ने कुनै पनि काममा नचुक्ने प्रतिबद्धता समेत जनाउनुभयो । गृहमन्त्री लामिछानेले सरकारले उद्योग व्यवसाय क्षेत्रको काम गर्न छुट्टै युनिट खडा गर्ने र उद्योगी व्यवसायीहरु साना कामका लागि मन्त्रालय वा कार्यालयमा धाउनुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो ।

उहाँले उद्योगी व्यवसायीहरुले आफ्नो व्यापार वृद्धि गरी मुलुकको राजश्व वृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो । उहाँले उद्योगी व्यवसायीहरुले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरुलाई भेटेर समय खेर फाल्नु नपर्ने जिकिर गर्नुभयो । गृहमन्त्री लामिछानेले सरकारको नीतिगत विषयमा समस्या आए व्यवसायीहरुले सल्लाह सुझाव दिन आग्रह समेत गर्नुभयो ।

 

गृहमन्त्री लामिछानेले उद्योगी व्यवसायीहरुले पैसा कमाउनुलाई अपराध गर्नु जस्तो व्याख्या गर्ने अवस्थाको अन्त्य गर्नेपनि आश्वासन दिनुभयो । उद्योगी व्यवसायीहरुले सही ढङ्गले स्वच्छ प्रतिस्पर्धा गरी व्यापार व्यवसायबाट पैसा कमाउँदा नै मुलुकको उन्नती हुने छ । उहाँले उद्योग व्यवसाय बढ्दै जाँदा मुलुकभित्र रोजगारीको सिर्जना हुने बताउनुभयो ।

‘‘मन्त्रालयमा कुनै कामका लागि व्यवसायीहरुले मन्त्रालय वा कार्यालय धाउनुपर्दैन । उद्योगी व्यवसायीहरुले मुलुकको राजश्व वृद्धि, व्यवसायी वृद्धिमा सही ढङ्गले समय खर्च गर्ने हो । अब उद्योगी व्यवसायीहरुले सरकारी कार्यालय, कार्यालयका हाकिम र राजनीतिज्ञहरु कहाँ गएर समय खेर फाल्नु पर्दैन । सरकारको नीतिगत विषयमा समस्या आए सल्लाह सुझाव दिनु होला ।,’’ गृहमन्त्री लामिछानेले भन्नुभयो, ‘‘उद्योगी व्यवसायीहरुले पैसा कमाउनु अपराध गर्नु जस्तो व्याख्या छ त्यसलाई हामीले अन्त्य गर्छौं । उद्योगी व्यवसायीहरुले पैसा कमाउनुपर्छ कमाउनुस् । स्वच्छ प्रतिस्पर्धा गरेर व्यवसायीहरुको उन्नति हुँदा नै मुलुकको उन्नति हुने हो ।’’

उहाँले कानुनभन्दा बाहिर रहेर काम गर्नेहरुको सङ्ख्या ठूलो रहेको भन्दै फोहोर सफा गर्न समय लाग्ने धारणा राख्नुभयो । गृहमन्त्री लामिछानेले फोहोरको चाङ सफा गर्दा बढी दुर्गन्ध आउनसक्ने भन्दै त्यसका लागि उद्योगी व्यवसायीहरुले दुर्गन्ध सहन तयार हुनुपर्ने बताउनुभयो । उहाँले आफूले कसैलाई जोगाउन र कसैलाई फसाउनुपर्ने नभएको उल्लेख गर्दै कानुनीको परिधि भित्र रहेर काम गर्ने जिकिर गर्नुभयो ।

 

उपप्रधान एवम् गृहमन्त्री लामिछानेले प्रभाव कालोबजारीको कारण मुलुकको अर्थतन्त्रमा प्रभाव परेका भन्दै कोलोबजारी गर्नु गृह मन्त्रालयको लागि चुनौतिको विषय भएको बताउनु भयो । उहाँले कालोबजारी, चोरी पैठारी नियन्त्रण गर्ने विषय मन्त्रालयको प्रमुख प्राथमिकतामा पर्ने जानकारी दिनुभयो ।

उहाँले कालोबजारी तथा कानुन विपरितका काममा कुनै पनि राजनीतिक दबाव आए कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले गृह मन्त्रालयले राज्यको अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रमा सुरक्षा व्यवस्थाको विषयमा अध्ययन भइरहेको बताउनुभयो । चेम्बरले गृह मन्त्रीलाई कालोबजारी, सीमानाकाबाट हुने चोरीपैठारी नियन्त्रण तथा उद्योग व्यवसायको सुरक्षा दिनुपर्ने माग राखेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!