निकै रोमाञ्चक बनेको मिरपुर टेस्टमा भारतले बंगलादेशलाई ३ विकेटले पराजित गर्दै शृङ्खलामाथि २–० ले कब्जा जमाएको छ । जितका लागि १ सय ४५ रनको झिनो लक्ष्य पछ्याउने क्रममा भारतले कुनै समय ७४ रनको स्थितिमा ७ विकेट गुमाउन पुगेको थियो । तर, रवीचन्द्र अश्विन र श्रेयस ऐयरले त्यसपछि खेल सम्हाल्दै भारतलाई जीतसम्म पुर्याएका थिए । अश्विनले ४२ तथा ऐयरले २९ रन बनाए ।
बंगलादेशका लागि मेहदी हसन मिराजले ५ तथा शकिब अल हसनले २ विकेट लिँदै भारतमाथि दबाब बढाएका थिए । भारतका शीर्ष पाँच ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । अश्विन र ऐयरबाहेक अक्षर पटेलले ३४ रनको योगदान दिए ।
टस जितेर ब्याटिङ रोजेको बङ्गलादेशले पहिलो पारीमा २२७ रन बनाएको थियो जवाफमा भारतले ३१४ रन बनायो । दोस्रो पारीमा बङ्गलादेशले २३१ रन बनाएको थियो । दुई टेस्टको शृङ्खलामा भारतले पहिलो टेस्ट १८८ रनले जितेको थियो ।