एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्ल्युएचओ’ले चीनका अस्पतालहरू कोरोना संक्रमितले भरिभराउ भएको बताएको छ ।
डब्ल्युएचओका आपतकालीन प्रमुख डा. माइकल रायनले रामीको संख्या कम हुँदै गए पनि सघन उपचार कक्ष ‘आइसीयू’ हरु भरिएको बताएका हुन् ।
डा. रायनले चीनलाई कोरोना महामारीको वर्तमान अवस्थाबारे जानकारी दिन आग्रहसमेत गरेका छन् ।
चीनमा कोरोना भाइरसको महामारी बढ्दै गएपछि राजधानी बेइजिङ र अन्य सहरमा अस्पताल भर्ना हुने बिरामीको संख्या पछिल्ला दिनमा बढेको छ ।
चीनले शून्य कोभिड नीति अन्तर्गत लगाएका विभिन्न स्वास्थ्य प्रतिबन्धहरू दुई साताअघि केही खुकुलो पारेपछि संक्रमितको संख्या बढेको हो ।
संक्रमितसँगै वृद्धवृद्धामा मृत्युदर बढ्ने आंकलन गरिएको छ । चीनको तथ्यांकले बुधबार कोरोनाबाट कसैको पनि मृत्यु नभएको देखाएको छ ।
यसअघि मंगलबार पाँच र सोमबार दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ । तर महामारीको वास्तविक प्रभाव भने शंकास्पद नै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।