फ्रान्सेली फुटबल महासंघ (एफएफएफ) ले फिफा विश्वकप फाइनलमा अर्जेन्टिनासँग पराजित भएपछि फ्रान्सेली टोलीका धेरै खेलाडीहरू सोशल मिडियामा ‘घृणित’ नश्लवादी दुर्व्यवहारको शिकार भएको मंगलबार जानकारी दिएको छ। महासंघले यसविरुद्ध कानुनी उजुरी दिने जनाएको छ ।
टोलीका किंग्सले कोमान र औरेलियन टुअमेनी दुर्व्यवहारको निशाना बनेका छन् । पेनाल्टी सुटआउटमा दुवै खेलाडीले गोल गर्न सकेनन् । घटनाले गत वर्षको युरो २०२० फाइनलको सम्झना दिलाएको छ जसमा इटालीसँग पराजित भएपछि इंग्ल्याण्डका तीन खेलाडीले यस्तै अवस्थाको सामना गरेका थिए।
फ्रान्सको फुटबल प्रमुखले मंगलबार विज्ञप्ति जारी गर्दै दुर्व्यवहार गर्नेहरूको निन्दा गरेका छन्। विश्वकप प्रतियोगिताको क्रममा फ्रान्सेली टोलीलाई अधिकांश फ्रान्सेली जनताले समर्थन गरेका थिए र सोमबार टोली कतारबाट फर्किँदा प्लेस डे ला कन्कोर्डमा ५० हजार मानिसहरू जम्मा भएका थिए । फ्रान्स फुटबल टोलीको बारेमा एफएफएफले ट्वीट गरेको छ, ‘विश्वकप फाइनलको अन्त्यमा फ्रान्सेली टोलीका धेरै खेलाडीहरू सामाजिक सञ्जालमा नश्लवादी र अस्वीकार्य घृणाजन्य टिप्पणीहरूको निशाना बने। एफएफएफ यसको निन्दा गर्दछ र यी टिप्पणीका लेखकहरू विरुद्ध उजुरी दायर गर्नेछ।’